देश छाेडेकाे दुई वर्षपछि कफिनमा फर्किए विपिन

कार्तिक ३, २०८२ |दशरथ राई
देश छाेडेकाे दुई वर्षपछि कफिनमा फर्किए विपिन

काठमाडौं । इजरायलमा हमास लडाकूद्वारा अपहरण भएको दुई वर्षपछि विपिन फर्किए, तर कफिनमा बन्द भएर । 

विपिनको परिवारमात्रै होइन, पूरै देशले दुई वर्षसम्म उनको प्रतिक्षा गरिरह्यो । पछिल्लो युद्धविरामपछि त उनी जिवितै रहेकोमा सबै आशावादी थिए । तर, उनी गाजामा धेरैअघि नै मारिइसकेको गत असोज २७ गते हमासले पुष्टि गरेपछि मात्र सार्वजनिक भयो । 

इजरायलबाट ल्याइएको विपिनको पार्थिव शरीरलाई त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभयो- बहादुर विपिन भौतिक रूपमा त छैन, तर, उ सदैव नेपालीका मनमा बाँचिरहनेछ । विपिन जोशीको शवलाई फ्लाई दुबईको उडानबाट सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा ल्याइएपछि प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा सरकारका उच्च अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

श्रद्धान्जली कार्यक्रममा प्रधानमन्त्री कार्कीले परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै विपिन भौतिक रूपमा नरहे पनि नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहेको उल्लेख गर्नुभयो । विपिनको शवलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत गृहनगर लगिएको छ । 

सन् २०२३ को अक्टोबर ७ का दिन हमासद्वारा अपहरण गरिएका विपिन जीवितको सूचीमा नरहेको जानकारी इजरायली सेनाले गत असोज २७ गते दिएको थियो । त्यसपछि युद्धविराम सहमति कार्यान्वयन गर्ने क्रममा हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो ।

डीएनए परीक्षणाबाट विपिनको शव पुष्टि भएपछि आइतबार इजरायलमा श्रद्धाञ्जली कार्यक्रमपछि शव नेपाल पठाइएको हो । इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीका विपिन जोशी 'लर्न एण्ड अर्न' कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि सन् २०२३ को सेप्टेम्बरमा इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुत्जमा आक्रमण गर्दा १० नेपाली मारिएका थिए भने हमास लडाकुको ग्रिनेड उनीहरूतर्फ नै प्रहार गरेर साथीहरुको ज्यान बचाएका विपिनलाई बन्धक बनाएर लगिएको थियो । 

सन् २०२३ को नोभेम्बर २४ देखि ३० सम्म भएको सात दिनको अस्थायी युद्धविरामका बेला विपिनसँगै काम गरेका थाइ श्रमिक मुक्त हुँदा विपिन मुक्त भएनन् । सन् २०२५ को जनवरी १९ देखि २१ फेब्रुअरीसम्म ७ पटक बन्धक साटासाट भयो, त्यतिबेला पनि मुक्त हुने सूचीमा विपिन पर्न सकेनन् । 

अनि सरकारले प्रभावकारी कूटनीतिक पहल नगरेको भन्दै आलोचना भयो । त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री, राजदूत, मन्त्रीलगायत विभिन्न तहबाट पहल भए । कतार तथा इजिप्टका उच्च तहमा पनि सम्पर्क स्थापित गर्ने प्रयास भयो । तर पनि विपिन मुक्त भएनन् । विपीनकी बहिनी पुस्पा र आमा पद्माले समेत इजरायल तथा अमेरिका पुगेर अन्तर्राष्ट्रिय रूपमै रिहाइको आवाज उठाएका भए पनि सफल हुन सकेका थिएनन् । 

अन्तत: अमेरिकाको सहजीकरणमा भएको युद्धविराम कार्यान्वयनका क्रममा विपिन जिवित नरहेको जानकारी सार्वजनिक भएको थियो ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।