‘भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ’

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
‘भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रियता नै कमजोर बनाउने बताए । उनले शासन प्रणाली पारदर्शी र जवाफदेही हुँदामात्र भ्रष्टाचार न्यूनीकरण हुने उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न सरकार तयार रहेको बताए । उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याउने काम गरेको उल्लेख गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा २ अंक माथि आउनुले पनि यो स्पष्ट भएको बताए । तर पनि अझै धेरै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भने सार्वजनिक पदाधिकारीबाट अधिकार दुरुपयोग बढेको उल्लेख गरे । सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नाममा समेत आर्थिक दुरुपयोग भइरहेको उनको टिप्पणी थियो । कानुनले निर्धारण गरेको जिम्मेवारीसमेत पूरा नगर्ने र मन्त्रिपरिषद्‌बाट निर्णय गराउने प्रवृत्तिले अनियमितता मौलाएको अख्तियार प्रमुखको भनाइ थियो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रुपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो । तर, आयोगको अनुसन्धान क्षमतामाथि भने प्रश्न उठ्दै आएको छ ।

यो पनि...

भ्रष्ट प्रवृत्तिले नैतिक धरातल मात्रै भासिँदैन राष्ट्रियता नै कमजोर बन्न पुग्छ : राष्ट्रपति पौडेल

ठूला भ्रष्टाचारका घटनालाई सरकारले अनुसन्धानको दायरामा ल्याइरहेको छ : प्रधानमन्त्री दाहाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.