धनकुटाका कालिगढ तिहारमासमेत मादल नबिक्दा चिन्तित

कार्तिक ३, २०८२ |विनोद घिमिरे
धनकुटाका कालिगढ तिहारमासमेत मादल नबिक्दा चिन्तित

धनकुटा । तिहारमा घन्कने मादलले देउसी-भैलोमा रौनक थप्छ । तर, देउसी-भैलो र नाचगानको मौलिक परम्परासँग जोडिएको मादलको माग घट्दै गएको छ । 

मादल बनाउने पुस्तैनी पेशामा रहेका धनकुटाका कालिगढ यो तिहारमा मादल बिक्री नै नभएको बताउँछन् । धनकुटा हिलेको गैरीटोलका छोटे सार्कीको परिवारले तीन पुस्तादेखि मादल बनाउने पेशालाई निरन्तरता दिँदै आएको छ । 

मादल मर्मत र खरिद गर्ने उहाँका नियमित ग्राहक थिए । आकार र गुणस्तर हेरी एउटै मादलको दुई हजार पाँचसयदेखि २६ हजार रूपैयाँसम्म पर्छ । अघिल्ला वर्षहरूमा हिले, धनकुटा बजार, लेगुवादेखि भोजपुर र संखुवासभासम्मका ग्राहक मादल किन्न आउने गर्थे । यसपालि भने बजार सुनसान छ । विगतका तिहारमा दुईलाख ५० हजार सम्मको मादल बेच्ने छोटेले अहिले भने ६० हजारको पनि व्यपार गर्न नसकेको सुनाउनु भयो ।

घरमै उद्योग खोल्नु भएका छोटेले मादलसँगै सारङ्गी, ढोलक, डमरु, दमहा र ट्याम्को जस्ता वाद्ययन्त्र बनाउने गर्नु भएको छ । विगतमा नयाँ मादलको प्रसस्त अर्डर आउने गरे पनि यो वर्ष मादल बिक्रि ठप्प जस्तै छ । मर्मतका लागि भने आक्कलझुक्ल एक-दुईजना ग्राहक आउने गरेका छन् ।

मादल बनाउन खमारी, लामपाते र सिरिषलगायत काठको ढुङ्ग्रो, बाख्राको छालाको प्रयोग हुन्छ । बिक्रि घटेपछि कच्चा पदार्थमा गरेको लगानी समेत नउठेको व्यपारीको दुखेसो छ । आधुनिक वाद्ययन्त्र, मोबाइल स्पिकर र डीजे संस्कृतिको बढ्दो प्रभावले मादलको प्रयोग घट्दै गएकाले मादल बनाउनेहरूको पेशानै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।