दाङ । पुस्तौंदेखि मादल बनाउने पेशा गर्दै आएका दाङका कालीगढहरूलाई आजकाल भ्याइनभ्याइ छ ।
घोराहीका चित्रे वादी र जुठे वादीले बाबुबाजेको पालादेखि मादल बनाएर गुजारा गर्दै आउनु भएको छ । चाडपर्वको समयमा नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न आउने ग्राहकका कारण बिहानदेखि बेलुका अवेरसम्म नै व्यस्त हुने गरेको वादी दाजुभाइले बताउनुभयो।
मागअनुसार मादल पुर्याउन निकै हम्मेहम्मे परेकाले घरका अन्य सदस्यले काममा सघाउने गरेका छन् । बाउबाजेको पालादेखि गरिआएको पेसा छाड्न नसकेको र आफ्नो घरखर्च चलाउन कुनै समस्या नभएको उहाँहरूको भनाइ छ ।
तिज, दशैं तिहार, माघीलगायतका चाडमा मादल धेरै बिक्री हुने गरेको छ । अन्य साँस्कृतिक कार्यक्रम तथा व्यक्तिगत प्रयोजनका लागि पनि मादल किन्नेहरूको संख्या बढेको छ ।