काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने बताएका छन् । यसले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा उनले चिन्ता पनि प्रकट गरे ।
‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने मात्र होइन राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुन जान्छ’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने । उनले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु भएको स्पष्ट पारे ।
‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनिकरणको संभावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु, नेपाली जनताको ठूलो वलिदान र संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो’, राष्ट्रपति पौडेलले भने ।
विद्यमान कार्यसंस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्धा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए ।
जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्धत मिल्नेछ भन्दै उनले प्रकृति मानिसका आवश्यकता पुरा गर्न सक्षम छ तर मानिसको लोभ पुरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुशरण गर्नु आजको आवश्यकता भएकोमा जोड दिए ।
राष्ट्रपति पौडेलले सुशासन लोकतन्त्रको प्राणवायु हो भन्दै मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्ट्राचार नियन्त्रण अनिवार्य सर्त हो भने ।
राष्ट्रपति पौडेलले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् बरु ठूला प्रकृति र कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्न हुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव पनि दिए ।