शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको निर्णय

असार १, २०८० |रमेश धमला
शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको निर्णय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर  रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्ने निर्णय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले आज पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाण तथा बहालवाला सचिव पाण्डेसहित १६ जना अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउन आदेश दिएको हो ।

कारागार चलान हुनेमा रायमाझी, खाण, पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारीसमेत छन् । त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, हरिभक्त महर्जन, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् ।

पक्राउ परेका १८ जना मध्ये टंक गुरुङ १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने जिल्ला अदालत काठमाडौंले निर्णय गरेको छ । यो मुद्दामा १२ जना भने अझै फरार छन् ।

जिल्ला न्यायाधीश न्यौपानेको एकल इजालासले लामो थुनछेक बहसपछि पुर्पक्षका लागि १६ जनालाई कारागार पठाउने आदेश दिएको हो । यो आदेशसँगै उनीहरु अब न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् ।

पुर्पक्षका लागि थुनामा गएसँगै एमाले नेता रायमाझीको सांसद पदसमेत प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बित भइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।

२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धानका अघि बढाएको थियो । त्यस क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका थिए ।

कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, रामशरण केसी, खाणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरी पनि अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि प्रतिवादीमध्येका थप २ जना लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए ।

पक्राउ परेका १६ र थप १४ जनालाई फरार सूचीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ८ मा राज्यविरुद्ध अपराधसहितका ३ कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसको २ दिनपछि जेठ १० मा सरकारी वकिल कार्यालयले किर्तेको थप दफा लगाएर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

यस्तो छ २२४ पृष्ठ लामो नक्कली शरणार्थीको अभियोगपत्र (पूर्णपाठ)

आरोपीहरुसँग २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएको २ दिनपछि जेठ १२ देखि अदालतले अभियुक्तहरूसँग बयान लिएको थियो भने जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको थियो ।

जेठ २२ गतेबाट ३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेकामा भोलिपल्टदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस हिजो टुंगिएको थियो ।

आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसहितका सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीको जवाफी बहसपछि अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सम्बन्धित समाचार...

आरोपितका पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्तादेखि वरिष्ठ अधिवक्तासम्मको लर्को

टेकनाथ रिजालले इजलासमै खाण र रायमाझीलाई ‘चोर’ भनेपछि...

न्यायाधीशले कानुन व्यवसायीलाई भने- बिस्तारै बोल्नू मेरो कान ठीक छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा पठाउन के के आधार प्रस्तुत गरे सरकारी वकिलले ?

नक्कली शरणार्थीको थुनछेक बहस : भैँसी बेचेको पैसादेखि ‘ह्वाइट कलर’ अपराधसम्म !

कति पीडामा छन् शिविरमा रहेका भुटानी शरणार्थी ?


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement