
मुस्ताङ । मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटक अत्यधिक बढेपछि म्याग्दी, मुस्ताङका होटलमा बुकिङ नगरी जाँदा बास पाउन मुस्किल भएको छ ।
आन्तरिक पर्यटकको अधिक आवागमनले शुक्रबार होटल व्यवसायीले सूचना प्रकाशित गरी होटल बुकिङ छैन भने पोखरा, कुस्मा वा बाग्लुङमै बास बस्न आग्रह गरेका गरेका छन् । बेनी-सोमसोम-मुक्तिनाथ सडक क्षेत्रका होटलमा बाँस नपाएका सयौं पर्यटक कष्टकर रात बिताउन बाध्य भएका छन् ।
दशैंपछि मुस्ताङका सबै होटल, रेष्टुरेन्ट तथा होमस्टेसमेत पर्यटकले भरिभराउ छन् । तिहारपछि केही दिन बिदा परेकोले पर्यटकको चाप बढेको हो । पर्यटक बढेपछि बेनी-जोमसोम सडकमा ट्राफिक चापसमेत अत्यधिक परेको छ ।
दैनिक १२ सय सवारीसाधन मुस्ताङ प्रवेश गर्ने र उत्तिकै संख्यामा बाहिरिँदा स्तरोन्नतिको क्रममा रहेको सडक छिचोल्नै मुस्किल हुने गरेको छ । खासगरी बेनी-घाँसा पहिरो क्षेत्रको सडकमा यात्रुले बढी सास्ती खेप्नुपरेको छ ।