टेकनाथ रिजालले इजलासमै खाण र रायमाझीलाई ‘चोर’ भनेपछि...

जेष्ठ ३२, २०८० |रमेश धमला
टेकनाथ रिजालले इजलासमै खाण र रायमाझीलाई ‘चोर’ भनेपछि...

काठमाडौं । साढे दुई महिनादेखि चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई के हुन्छ भन्ने चासो धेरैको छ ।

यस प्रकरणामा ३० जनाविरुद्ध मुद्दा दायर भए पनि १८ जना मात्रै पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा पठाउने कि नपठाउने भन्ने बहस काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । बिहीबार आरोपीका तर्फबाट कानुन व्यवसायीले बहस सके । शुक्रबार सरकारी वकिलले प्रतिउत्तर दिएपछि अदालतले आदेश दिनेछ ।

सधैंजसो बिहीबार पनि पक्राउ परेका १८ जनालाई नै ११ बजे काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइयो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बुधबार नै बहस सिध्याउन भने पनि आरोपीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीरुले लामो समय लिएपछि भुटानी शरणर्थीको मुद्दा लम्बिरहेको थियो ।

बिहीबार पहिलो बहस भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको तर्फबाट सुरु भयो । अन्य व्यक्ति नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परे पनि रिजाल समेत मुछिनु सामान्य थिएन । इजलासमा अन्य आरोपी एउटै बेञ्चमा बसे पनि रिजाल भने कुनातिर छुट्टै बस्थे ।

बहसको सुरुवात कानुन व्यवसायी रामकुमार सुवालले गरे । अधिवक्ता सुवालले टेकनाथ रिजालले भुटानमा गरेको त्यागबाट सुरु गरेको बहसको प्रसंग शरणार्थी समस्या समाधान गर्न बनेको कार्यदलमा ल्याएर जोडे । रिजालमाथि पनि अन्यलाई जस्तै पाँच वटै कसुर लागेको छ । तर अधिवक्ता सुवालले भने शरणार्थी समस्या समाधान गर्न बनेको बालकृष्ण पन्थीको कार्यदलले नै दुईवटा प्रतिवेदन बनाएर एउटा गृह मन्त्रालय र अर्को बाहिर दिएको आरोप लगाए ।

त्यसपछि रिजालको बचाउमा १२ जना कानुन व्यवसायीले बसस गरे । तर अधिकांशले घटनामा उनको संलग्नता नभएको तथ्य भन्दा उनको सादगी जीवनलाई जोड दिए । तर कानुन व्यवसायीको बहसबाट चित्त नबुझाए पछि उनी आफैं न्यायाधीशसँग आफ्नो कुरा राख्न अघि सरे ।

उनका कानुन व्यवसायीले आग्रह गरिदिएपछि न्यायाधीश न्यौपानेले पनि समय दिए । न्यायाधीश सामु भावुक भएर प्रस्तुत भएका रिजालले आफू भुटानबाट खेदिएर नेपाल आएकोदेखि नेपालले फिर्ता पठाएर भुटानमै १० वर्ष जेल परेको कहानी सुनाए । न्यायाधीश न्यौपानेले पनि उनको कुरा ध्यानपूर्वक सुने ।

उनले नेपालमा रहेका भुटानीको समस्या समाधानका लागि भन्दै शेरबहादुर देउवादेखि माधव नेपालसम्मलाई भेटेर भन्दा पनि सुनुवाइ नभएको गुनासो इजलासमै राखे । बालकृष्ण खाण र टोपबहादुर रायमाझीतिर देखाउँदै उनीहरुकै कारण आफू समस्यामा परेको भन्दै रिजालले आक्रोस पोखे । उनले खाण र रायमाझीतर्फ फर्कीएर ‘चोर’ समेत भने । बरु मलाई यहीँ बाधेर राखे हुन्छ भन्दै रिजाल चर्किने थालेपछि भने न्यायाधीशले कानुन व्यवसायी मार्फत् उनलाई कुर्सिमा बस्न भनेका थिए ।

बिहीबार लक्ष्मी मर्हजन र उनका श्रीमान हरिभक्त मर्हजनका कानुन व्यवसायीले पनि बहस गरेसँगै आरोपीका तर्फबाट थुनछेक बहस सकिएको छ ।

प्रहरीले संकलन गरेको प्रमाणका आधारमा सरकारी वकिलले चलाएको मुद्दामा आरोपीका तर्फबाट बहस गर्ने १ सय भन्दा बढी कानुन व्यवसायी मध्य अधिकांशले आफ्ना पक्षको संलग्नता नरहेको तथ्य भन्दा मन्त्रालयका कर्मचारी, पूर्व गृहमन्त्री रामबहादुर थापा र पूर्व सचिव प्रेम राई तिर दोष देखाएका छन ।

शुक्रबार आरोपीका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ सरकारी वकिलले दिने छन् । ब्रेकअगाडि नै सरकारी वकिलको जवाफ सकिने भएकाले साँझसम्म आदेश आउन सक्ने छ । नक्कली भुटानी शरणार्थीको मुद्दामा आदालतको आदेशले कसलाई थुनामा पठाउँछ र कसलाई धरौटी अथवा तारेखमा छोड्छ सबैको चासो हुने छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement