मन्त्री घिसिङद्वारा निर्माणाधीन संसद् भवन निरीक्षण : समयमै काम सम्पन्न नभए जरिवाना तिराउने चेतावनी

कार्तिक ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्री घिसिङद्वारा निर्माणाधीन संसद् भवन निरीक्षण : समयमै काम सम्पन्न नभए जरिवाना तिराउने चेतावनी

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद् भवन निरीक्षण गर्नुभएको छ ।

शनिबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मन्त्री घिसिङले निरीक्षण गर्नुभएको हो । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरूले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिव्र बनाउन निर्देशन दिइएको छ । 

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद् भवन जेन-जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनि सञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

नयाँ संसद् भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके धेरै असर पर्ने स्थिति रहेको बताउनु भयो । पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको उहाँले बताउनु भयो । हरेक दिनको सेड्युल बनाएर काम गर्न उहाँले निर्देशन दिनुभयो । 

दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । दुई दिनभित्र सेड्युल पेस गर्न र त्यही अनुसार काम गर्न उहाँले निर्देशन दिनुभयो । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने उहाँले जिकिर गर्नुभयो । आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिव्रताका साथ काम गर्न उहाँले निर्देशन दिनुभयो । समयमै काम सम्पन्न नभए कारबाही स्वरूप जरिवाना तिराउने चेतावनी समेत उहाँले दिनुभयो ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरू भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद् पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.