नक्कली भुटानी शरणार्थी मुद्दा : आरोपितका पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्तादेखि वरिष्ठ अधिवक्तासम्मको लर्को

जेष्ठ ३१, २०८० |सुबिन्द्र श्रेष्ठ
नक्कली भुटानी शरणार्थी मुद्दा : आरोपितका पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्तादेखि वरिष्ठ अधिवक्तासम्मको लर्को

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा विगत १० दिनदेखि जारी नक्कली भुटानी शरणार्थी प्रकरणका १८ जना आरोपीको थुनछेक बहसमा सहभागी हुने कानुन व्यवसायीको लर्को छ । एउटै प्रतिवादीले धेरै जना कानुन व्यवसायी राख्दा बहस लम्बिँदै गएको हो । एउटै बहसका लागि पचासौं हजार शुल्क लिने पूर्वमहान्यायाधिवक्ता भइसकेका, वरिष्ठ अधिवक्तादेखि चिनजानका आफन्त अधिवक्ताहरुसम्मले बहसलाई लम्ब्याउँदै लगेका छन् । कानुन व्यवसायीहरुको हुल नै जम्मा गरेर बहस लम्याउँदै न्यायाधीशलाई नै प्रभावित पार्न खोजेकोसम्म आशंका गर्न थालिएको छ ।

काठमाडौं जिल्ला अदालतको इजलास नम्बर १० मा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ३ दिन सरकारी वकिलले १८ जना आरोपीलाई थुनामा राख्नुपर्ने जिकीर गरे । त्यसयता राज्यविरुद्धका आरोपीका तर्फबाट ७ दिन बहस गर्न वरिष्ठ अधिवक्ता, पूर्वमहान्यायाधिवक्ता र अधिवक्ताहरु उत्रिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा संलग्न भएको आरोप लागेका अभियुक्तले आफ्नो पक्षमा वकालत गर्ने कानुन व्यवसायी पाउनु नैसर्गिक अधिकार हो । तर महान्यायाधिवक्ता भइसकेका व्यक्तिले समेत राज्यविरुद्धको आरोपीका पक्षमा वकालत गरेको देखेर कानुनका जानकारहरुले नै प्रश्न उठाएका छन्

वरिष्ठ अधिवक्ता रामनारायण विडारी भन्छन्, ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले राज्यविरूद्धको अभियोगमा विपक्षीबाट बहस गर्नु अनैतिक हो ।’

सामान्यत: यस्ता मुद्दामा अधिवक्ताहरुले बहस गर्दा २० हजारदेखि ५० हजारसम्म लिने गर्दछन् । वरिष्ठ भएकाहरुले त झन् एउटै बहका लागि ५० हजारदेखि २ लाखसम्म शुल्क लिने चलन छ । अझ उच्च पदस्थ ब्यक्तिको जटिल मुद्दामा त झन धेरै शुल्क हुने गरेको कानुन व्यवसायीहरुनै स्वीकार्छन् ।

सर्वोच्च अदालत बार एशोसिएसन अध्यक्ष हरिशंकर निरौला भन्छन्, ‘अभियुक्तको हैसियतका आधारमा शुल्क निर्धारण हुन्छ, शुल्क नलिनेले अदृष्य तबरले त्यसको शुल्क बढी हुन्छ ।’

त्यसो त अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेकको बहस सहभागी भएका कानुन व्यवसायीले कति शुल्क लिएका छन् भन्ने कसैले पनि सार्वजनिक गरेका छैनन् । कतिपयले त निःशुल्क बहस गरिदिएको तर्क पनि गरेका छन् । तर जेसुकै भए पनि थुनछेककै बहसमा कानुन व्यवसायीको लर्को लाग्नुले थप शंका उत्पन्न गराएको देखिएको छ । यो मुद्दामा अहिलेसम्म १ सयभन्दा बढीले बहस गरिसकेका छन् । यसले न्यायाधीशलाई समेत दबाबमा राख्न खोजेको अर्थ लगाइँदैछ ।

यो मुद्दा हेरिरहेका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सबै कानुन व्यवसायीको बहस ध्यानपूर्वक सुन्ने र त्यसलाई टिप्ने गरेका छन् । बहसकै क्रममा तर्कपूर्ण प्रश्न सोधेर वरिष्ठ अधिवक्ताहरुलाई समेत गम्भीर बनाउने गरेका छन् । अब बहस करिब अन्तिम चरणमा पुगेकाले उनले कस्तो आदेश जारी गर्ने हुन् भन्ने चाहिँ प्रतिक्षाको विषय बनेको छ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement