नक्कली शरणार्थी प्रकरण : न्यायाधीशले कानुन व्यवसायीलाई भने- बिस्तारै बोल्नू मेरो कान ठीक छ

जेष्ठ २८, २०८० |रमेश धमला
नक्कली शरणार्थी प्रकरण : न्यायाधीशले कानुन व्यवसायीलाई भने- बिस्तारै बोल्नू मेरो कान ठीक छ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा यही साता भित्रै आदेश दिने गरी काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेकको बहस आज पनि जारी रह्यो ।

आरोपी मध्ये टोपबहादुर रायमाझीका छोरा सन्दीप र सचिव टेकनारायण पाण्डेका कानुन व्यवसायीले आज बहस गरे । सन्दीपको बचाउमा बहस गरेका अधिवक्ता अवतार न्यौपानेले खातामा कारोबार भएको भनिएको रकम उनको कम्पनीसँग सम्बन्धित भएको तर्क गरे । तर न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने कम्पनी खोलेपछि जे गरे पनि पाइन्छ भन्दै प्रश्न गरेपछि सन्दीपको निजी खातामा आएको २० लाखको स्रोत भने प्रष्ट पार्न सकेनन् ।

त्यस्तै बहसमा आएका अधिवक्ता बाबुराम दाहालले तथ्यभन्दा चर्को स्वरमा बोलेको भन्दै न्यायाधीश न्यौपानेले आफू सुन्न पनि सक्ने र नेपाली बुझ्ने भएकाले सानो स्वरमा बोल्न चेतावनी दिए ।

अर्का आरोपी सचिव टेकनारायण पाण्डेको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले पनि पाण्डेले भुटानी शरणार्थीको समस्या समाधान गर्ने असल नियतले काम गरेको तर्क गरे । त्यसमा न्यायाधीशले कानुन व्यवसायीले पूर्पपक्षका लागि थुनामा पठाउनु नपर्ने आधार प्रस्तुत गर्नुभन्दा अन्यत्र बहस गरेकाले पटक पटक प्रश्न गरे । पाण्डेका कानुन व्यवसायी जगत जोशीले वकिलले सेतोलाई कालो र कालोलाई सेतो बनाउने भन्दै बहस सुरु गरेपछि अनावश्यक तर्क नगर्न न्यायाधीशले सम्झाए ।

पाण्डेकै तर्फबाट बहसमा नाम राखिए पनि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ गएनन् । अन्य आरोपीका लागि कानुन व्यवसायी नभएपछि साढे चार बजे नै इजलास स्थगित भएको थियो ।

त्यस्तै भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष सम्शेर मियाँले प्रहरी हिरासतमा असहज भएको भन्दै गुनासो गरेका थिए । त्यसपछि न्यायाधीशले प्रहरीलाई सहज बनाउन निर्देशन दिए । यो प्रकरणमा मंगलबारसम्म बहस सकेर बुधबार आदेश दिने तयारी न्यायाधीशको छ ।

थप भिडियोमा : 

 यो पनि : 

नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement