महेन्द्रनगरबाट चल्ने नेपाल-भारत मैत्री बस सेवाको प्रभाव : दुई देश आउजाउमा सुरक्षा र सहजता

कार्तिक ८, २०८२ |हरिश्चन्द्र बाग
महेन्द्रनगरबाट चल्ने नेपाल-भारत मैत्री बस सेवाको प्रभाव : दुई देश आउजाउमा सुरक्षा र सहजता

कञ्चनपुर । यात्रीहरूको आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालनमा आएको नेपाल-भारत मैत्री बस सेवाले यात्रीहरूलाई सहजता पुर्‍याएको छ। 

सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगर बसपार्कदेखि भारतको राजधानी नयाँ दिल्ली तथा देहरादूनसम्म सेवा सञ्चालन भएपछि आवागमन पनि सुरक्षित र व्यवस्थित बन्दै गएको छ। यसले मौसमी कामदारको रूपमा भारत पस्ने कर्णाली र सुदूरपश्चिमका हजारौं मानिसहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपाल भारत मैत्री बस सेवा सञ्चालनमा आएपछि यात्रीहरूको दैनिक यात्रा सहज बनेको छ । महेन्द्रनगरदेखि भारतका दिल्ली, देहरादूनलगायत सहरसम्म नियमित बस सेवा सञ्चालनमा छ । यस सेवामा नेपाल र भारत दुबै देशका बसहरू रहेका छन्, जसमा भारत सरकारअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसहरू समेत सञ्चालनमा छन् ।

यो सेवा सुरू हुनु अघि यात्रीहरूलाई निकै असुविधा थियो । अनियमित रूपमा चल्ने सवारी साधनमा यात्रा गर्दा सुरक्षाको अभाव, मनलाग्दी भाडा असुली, सीमामा झन्झट र ठगी तथा लुटपाटका घटना धेरै हुने गर्दथे । तर, नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएपछि ती समस्या घटेका छन् ।

निश्चित समय र निश्चित मार्गमा चल्ने बसले यात्रीहरूलाई सुरक्षित र नियमित यात्रा सुनिश्चित गरेको छ । सरकारी नियमनमा सञ्चालन भएकाले भाडा पनि निश्चित छ र यात्राको सुरक्षामा विश्वास बढेको छ । यसका साथै अधिकांश यात्रीहरू नेपाली नै हुने भएकाले पनि यात्रा विश्वसनीय हुने गर्दछ । 

सुदूरपश्चिमको महेन्द्रनगरबाट सञ्चालित यो सेवा प्रभावकारी बनेको छ भने नेपाल-भारतका केही अन्य सीमा नाकाहरू र काठमाडौंबाट पनि मैत्री बस सेवा सञ्चालनमा रहेको छ । नेपाल भारत मैत्री बस सेवाले रोजगारी, उपचार, अध्ययन, व्यापार, पर्यटन र तीर्थ यात्राका लागि नेपाल भारत आवागमन गर्ने यात्रीहरूलाई निक्कै फाइदा पुर्‍याएको छ । 

आवागमन सहज भएसँगै दुई देशबीचको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध अझ घनिष्ठ भएकोले यो सेवा अत्यन्तै उपयोगी बनेको छ । यातायात व्यवसायीहरूले यो सेवालाई अझै व्यवस्थित र मर्यादित बनाउनु पर्दछ । नेपाल भारत मैत्री बस सेवा दुबै देशबीचको आपसी समझदारी, विश्वास र सहकार्यको प्रतिकका रूपमा स्थापित भएको छ । 

यसले जनस्तरमा निकटता बढाउनुका साथै कूटनीतिक सम्बन्धमा पनि सकारात्मक सन्देश पुर्‍याएको छ । नेपाल भारत मैत्री बस सेवाको दायरा र सुविधालाई अझै बढाउन सकेमा दुई देशबीचको सम्बन्धमा अझै सुधार हुने र अहिले यदाकदा सुनिने लुटपाट तथा ठगीका घटनाहरूमा पनि कमी आउने अपेक्षा गर्न सकिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।