कति पीडामा छन् शिविरमा रहेका भुटानी शरणार्थी ?

जेष्ठ ११, २०८० |रमा दाहाल
कति पीडामा छन् शिविरमा रहेका भुटानी शरणार्थी ?

झापा । झापाको बेलडाँगी शिविर बी-वान-जिरो-सेभेनसेभेन नम्बरको छाप्रोमा बस्ने धनबहादुर गुरुङको चुलो नबलेको एक वर्ष भयो ।

उनमा मधुमेह र बाथ रोगसँगै मानसिक समस्या छ । दातृ निकायको सहयोग पाउन छोडेपछि उनले औषधी पनि पूरा खाना पाएका छैनन् । हेरचाह गर्ने कोही छैन । आफन्तकोमा खाना खाएर उनी घर फर्किन्छन् र एक्लै सुत्छन् ।

‘म बसेँ, मेरा नानीहरू सबै गए । मलाई दु:ख सुख हेर्ने मेरा भाइका छोराबुहारी छन् । त्यही गएर म खान्छु,’ धनबहादुरले सुनाए ।

बेलडाँगी शिविरकै अष्टबहादुर राईको एउटा हात चल्दैन । उनी कानपनि राम्ररी सुन्दैनन् । धारामा पानी आउँदैन । छिमेकीकहाँ गएर एउटा हातको भरमा ल्याएको पानीले आफ्नो सरसफाइ गर्छन् ।

हर्कबहादुर सुब्बाको परिवारमा दुईजना मानसिक रोगी छन् । बिरामीको हेरचाह गर्न समस्या छ । आर्थिक संकट पनि उस्तै छ । ‘घरमा २/२ जना बिरामी छन्, हामीलाई एकदम गाह्रो छ,’ हर्कबहादुरले थपे, ‘म पनि बिरामी नै छु ।’

शिविरभित्रको कारुणिक अवस्था झल्काउने यी केही प्रतिनिधि पात्र मात्रै हुन् । यहाँ धेरैले औषधी उपचार पाएका छैनन् । शिविरमा नसासम्बन्धी, मानसिक रोग, सुगर, प्रेसर र कुपोषण व्याप्त छ । असक्तताका कारण ज्याला मजदुरी गर्ने अवस्था पनि छैन । नेपाल सरकारले युनएनसिएचआरसँग मानवीय सहायता उपलब्ध गराउन पहल गर्नुपने शरणार्थी नेता बताउँछन् ।

९५ प्रतिशत शरणार्थी तेस्रो मुलुक लगिसकेपनि ५ प्रतिशत नेपालमै बाँकी रहेको भुटान नेपाल डेमोक्र्याट पार्टीका अध्यक्ष डा. डिएनएस ढकाल बताउँछन् । ‘यी मानिसका लागि एउटा निकास निकाल्नु पर्‍यो,’ उनले भने ।

यतिबेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको प्रकरणले मुलुकलाई नै तरंगित पारिरहेको छ । तर जसको नाम बेचेर यत्रो ठूलो प्रकरण सार्वजनिक भयो उनीहरुले भने हाल कुनैपनि मानवीय सहायता पाइरहेका छैनन् ।

तेस्रो देश पुनर्स्थापना कार्यक्रममा नटाएका बाँकी भुटानीलाई आधारभूत मानवीय सहायता उपलब्ध गराउनु नेपालको पनि दायित्व हो । यसका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग समन्वय गर्न जरुरी देखिन्छ ।

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालको भूमिका कति ?

वास्तविक भुटानी शरणार्थी भन्छन्- शिविर सञ्चालक पदाधिकारीमाथि पनि छानबिन हुनुपर्छ

शरणार्थी प्रकरण : ‘अमेरिकाको चासो स्वाभाविक, एफबीआईले पनि हेरेकै होला’


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।