आन्दोलनपछि बन्द होटल सञ्चालन गर्न सरकारको आग्रह, आश्वस्त हुन सकेनन् व्यवस्थापक

कार्तिक ८, २०८२ |सुमन पन्थ
आन्दोलनपछि बन्द होटल सञ्चालन गर्न सरकारको आग्रह, आश्वस्त हुन सकेनन् व्यवस्थापक

काठमाडौं । सरकारले आन्दोलनपछि क्षति पुगेर बन्द रहेका होटलहरूलाई सञ्चालन गर्न आग्रह गरे पनि होटल व्यवस्थापकहरू आश्वस्त हुन सकेका छैनन् । 

क्षतिग्रस्त संरचना पूनर्निर्माणकै लागि समेत समय लाग्ने भएका कारण मुख्य पर्यटकीय सिजनमा ठूला होटलहरू सञ्चालन हुन सक्ने देखिँदैन । २८२ कोठा र काठमाडौंमा सबैभन्दा धेरै स्पेश भएको होटल हायात रिजेन्सीले आफ्ना १२० कर्मचारीलाई अर्को सूचना नआउँदासम्म घरमै बस्न भनेको छ । 

सेप्टेम्बर र अक्टोबरका लागि बुकिङ भएका कोठा तथा कार्यक्रम सबै रद्द भएका छन् । कान्तिपुर टेलिभिजनको सम्पर्कमा आएका होटलका महाप्रबन्धक आशिस कुमारले होटल सञ्चालनका उपायका विषयमा केही दिनमै छलफल गरिने बताउनुभएको छ । स्थायी १२० जना कर्मचारी र करारका कर्मचारीहरू होटल कहिले खुल्छ पर्खेर हेरेर बसेका छन् ।

आन्दोलनकै क्रममा जलेको अर्को अन्तराष्ट्रिय चेन होटल हिल्टनले पनि क्षतिको मूल्याङकन गराइरहेको छ । होटलमा काम गरिरहेका ६ सय भन्दा धेरै कर्मचारीलाई होटलले बिदाइ गरिरहेको छ । होटलमा कम्तिमा ८ अर्बभन्दा बढीको क्षति भएको छ ।

त्यस्तै २ वर्ष अघि नक्सालमा खुलेको म्युजियम होटल वर्णबास आगलागी भएपछि होटल पूर्ण रूपमा बन्द छ । होटलले दुई महिनाको तलबसहित ६५ जना कर्मचारीलाई अनुभव पत्र दिई बिदाइ गरेको छ । मुख्य सिजनमै होटलमाथि आक्रमणपछि गुणस्तरीय पर्यटकले नेपाल आउने तालिका नै रद्द गरेका छन् ।

होटल व्यवसायीहरूका अनुसार आन्दोलनका क्रममा २५ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ । नेपालको पर्यटक नगरी पोखरामा आन्दोलनमा क्रममा ६ वटा ठूला होटलमा आगजनी हुँदा करिब ३ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ । 

भरत पहाडीको होटल सरोबर क्षतिग्रस्त भएको छ । प्रदेश सांसद गणेश गुरूङको गुडविल होटल पनि पूर्ण रूपमा क्षति भएको छ । गण्डकीकै सामाजिक विकास मन्त्री विन्दकुमार थापाको बगैंचा रिसोर्ट पनि बन्द भएको छ । होटल एसाेसिएसन पोखराको अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सयौंको रोजगारी प्रभावित भएको छ । 

आन्दोलनका क्रममा लेकसाइडमा वरपीपल रिसोर्ट, मन्त्र थकाली जस्ता होटलमा पनि क्षति भएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।