नक्कली शरणार्थीको थुनछेक बहस : भैँसी बेचेको पैसादेखि ‘ह्वाइट कलर’ अपराधसम्म !

जेष्ठ २२, २०८० |रमेश धमला
नक्कली शरणार्थीको थुनछेक बहस : भैँसी बेचेको पैसादेखि ‘ह्वाइट कलर’ अपराधसम्म !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले प्रमाण नष्ट गर्न सक्ने भएकाले पूर्वपक्षका लागि थुनामा पठाउनुपर्ने जिल्ला सरकारी वकिलहरुले माग गरेका छन् । थुनछेक बहसका क्रममा मन्त्री र सचिवले गरेको कार्य ‘ह्वाइट कलर क्राइम’ भएको सरकारी वकिलको जिकिर छ ।

बहसका क्रममा अमेरिका जान भन्दै भैँसी बेचेर बिचौलियालाई पैसा बुझाउनेहरुलाई प्रतिवादी बनाउने/नबनाउने विषयमा पनि चर्चा भएको थियो । 

जिल्ला अदालत काठमाडौंमा दोस्रो दिन भएको थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका आरोपीमध्ये सचिव टेकनारायण पाण्डेले हिरासतबाटै बालकृष्ण खाणलाई पत्र पठाएको बताए । तत्कालीन गृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मोबाइलमा भएका सबै तथ्यहरुसमेत मेटेकाले उनीहरुलाई थुना बाहिर राख्दा जोखिम हुने अर्यालले दाबी गरे ।

बहसका क्रममा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गैरनागरिक बनेर विदेश जान चाहानेहरुको चाहिँ नागरिक दायित्व हुँदैन ? प्रश्न गरे । जवाफमा जिल्ला उपन्याधिवक्ता अर्यालले रोजगारको आश्वासन पाएर गाउँमा भैँसी बेचेर पैसा बुझाएकाहरुले नागरिक दायित्व पुरा गरेरै कानुनी कारबाहीको बाटो खोजेको जवाफ दिएका थिए । तर, न्यायाधीश न्यौपानेले आफूले पीडितलाई प्रतिवादी बनाउनुपर्छ नभनेको स्पष्ट पारे ।

सहन्यायधिक्ता अर्यालले बहसका क्रममा भने, ‘बालकृष्ण खाण नेविसंघबाट राजनीति गरेर आउनुभएको व्यक्ति पटक-पटक मन्त्री भइसकेका उहाँको राजनीतिप्रति ठूलो योगदान छ, त्यसमा मेरो पनि सम्मान छ । तर त्यतिका गौरवपूर्ण इतिहास भएको व्यक्तिले मोबाइल किन फर्म्याट गरेको ? अनि उहाँकै पालमा किर्ते कसरी भयो ?’

त्यस्तै बसहमा सहभागी सहायकन्यायाधिवक्ता दिनेश भट्टराईले गृह मन्त्रालयको नेतृत्व सम्हालेका सचिव जस्तो व्यक्तिले आपराधिक व्यक्तिसँग सम्बन्ध राखेर हिरासतमा पुग्दा समेत अर्का आरोपी खाणलाई जोगाउन पत्र लेखेको परीक्षणबाटै पुष्टि भएकाले सबै कसुरमा ४१ वर्ष जेल सँजाय हुनु पर्ने दावी गरे ।

न्यायाधीश न्यौपानेले पटक-पटक संगठित अपराध पुष्टि हुने आधार खोजिरहेका थिए ।

जवाफमा संगठित अपराधमा संलग्नहरु एकले अर्कालाई नचिन्ने स्वभावको हुने भट्टराईले स्पष्टीकरण दिए । उनले भने, ‘सचिव पाण्डेले प्रतिवेदन घरमा लगेर राखेको गृहका कर्मचारीहरुले नै कागज गरेका छन् । त्यसको जवाफमा अर्का सहायक प्रकाश घिमिरेले ह्वाइट कलर अपराधमा संलग्नहरुले अनुसन्धानकर्तादेखि न्यायलय सम्मलाई दवावमा राखेर धन्दा चलाउने गरेको जवाफ दिए ।

बहसकर्ता घिमिरेले भने, ‘ह्वाइटकलर अपराधमा उच्च तहकै व्यक्ति संलग्न हुन्छन् । राजनीति र प्रशासनिक दुवै क्षेत्रबाट उच्च तहकै व्यक्तिहरु संलग्न हुने भएकाले यस्ता अपराधको अनुसन्धान कमै हुन्छ । उनीहरुले अनुसन्धान गर्ने निकायदेखि अभियोजन गर्ने र न्यायालय सम्मलाई दबावमा राख्न खोज्छन् ।

उनले अगाडि भने, ‘शरणार्थीको मुद्दा दायर गर्ने दिनसम्म कुन कसुर लगाउने भनेर दबाव आएको थियो । ह्वाइट कलर अपराधमा संलग्नहरुले जहिले पनि प्रमाणलाई नष्ट गर्ने र अनुसन्धानकर्तादेखि अभियोजनकर्तासमेत जोखिममा रहने भएकाले पूर्पपक्षकै लागि पठाउनु पर्छ । संगठित अपराधमा परम्परागत अपराधमा जस्तो प्रमाण नहुन पनि सक्छ ।’

आरोपीले यातना दिएको भन्दै दिएको वयानप्रति पनि सरकारी वकिलले जवाफ दिए । सहन्यायधिवक्ता अर्यालले थपे, ‘उहाँहरुलाई असजिलो होला भनेर हाकिमको सोफामा राखेर बयान लिएको हो । दबाव दिने त कल्पनासमेत गर्न सकिँदैन ।’

अदालतमा टोबहादुर रायमाझी, बालकृष्ण खाण, इन्द्रजित राई एकै लहरमा बसेका थिए । अधिकांश बहसमा पक्राउ परेका सानु भण्डारीले लेखेको डायरी, बैंक खाताहरुमा जम्मा भएका पैसासहितको तथ्यमा केन्द्रित थियो ।

जब सरकारी वकिलले प्रमाण सहित बहस गर्थे, आरोपीहरु एक अर्कासँग मुखामुख गर्थे भने केही आफ्ना कानुन व्यवसायीसँग कानेखुशी गरिरहेको देखिन्थ्यो।

वादीका तर्फबाट बहस कर्ताहरुले प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दाको सुनुवाई हुनुपर्ने जिरह गरेका थिए । 

थप...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement