नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा पठाउन के के आधार प्रस्तुत गरे सरकारी वकिलले ?

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा पठाउन के के आधार प्रस्तुत गरे सरकारी वकिलले ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएको छ ।

आइतबारबाट सुरु भएको थुनछेक बहसमा सरकारी वकिलले तीन दिनको समय पाएका थिए । पक्राउ परेका १८ प्रतिवादीविरुद्ध बनेको ८ जनाको टिममध्ये मंगलबार तीन जनाले बहस गरेका हुन् ।

सहायक जिल्ला न्यायाधीवक्ताहरु सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल भोलनले पक्राउ परेकाहरु विरुद्ध पर्याप्त प्रमाण भएकाले पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् । थुनाबाहिर राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट गर्न सक्ने जोखिम रहने उनीहरुको जिकिर थियो ।

त्यस्तै ठगिएको भन्दै जाहेर दिनेहरुका तर्फबाट पनि कानुन व्यवसायीहरुले बहस गरेका छन् । अधिवक्ता स्वागत नेपालले आइतबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शरणार्थी बनेर अमेरिका जान खोज्नेहरुको दायित्व हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा अधिवक्ता नेपालले त्यो कानुनी प्रश्न नभएर राजनीतिक भएको जवाफ दिएका छन् ।

पीडितहरु शरणार्थी बनिनसकेको र आज पनि नेपाली नागरिक नै भएकाले उनीहरुमाथि प्रश्न गर्न नमिल्ने नेपालको जिकिर थियो । त्यस्तै उनले पक्राउ परेका बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायतलाई हतकडी नलगाएर सामन्तवादको झल्को दिएको पनि उनको तर्क थियो ।

त्यस्तै राष्ट्रसंघीय शरणार्थी नियोग–युएनएचसीआरले तेस्रो देश पुन:स्थापना गर्न बन्द गरिसकेको अवस्थामा कार्यक्रम चलिरहेको भन्दै झुक्याएर संगठन बनाएर अपराध गरेकाले सबैविरुद्ध संगठित अपराधसम्बन्धी कसुरको सबैभन्दा गतिलो उदाहरण प्रतिवादीहरु भएको अधिवक्ता नेपालको दाबी छ ।

जाहेरवालाहरुकै तर्फबाट बहस गरेका चार जना कानुन व्यवसायीहरुले आरोपीहरुले नाम लिएका अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

प्रतिवादीहरुका तर्फबाट बहस बुधबारदेखि सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.