जनसंख्या वृद्धिदर घट्दा आर्थिक समृद्धिको यात्रामा जोखिम

चैत्र १०, २०७९ |भरत रावल|सुमन पन्थ
जनसंख्या वृद्धिदर घट्दा आर्थिक समृद्धिको यात्रामा जोखिम

काठमाडौं । नेपालको जनसंख्याको वार्षिक औसत वृद्धिदर ८० वर्षयताकै कम देखिएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको जनसंख्या वृद्धिदर यो पटक घटेर ०.९२ प्रतिशतमा सीमित भएको हो । यसले देश आर्थिक रुपमा सबल नहुँदै ठूलो जनसंख्या बुढो हुने र देशलाई आवश्यक जनशक्तिको अभाव पो हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणनाको अन्तिम तथ्यांकले नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ देखाएको छ । १२औं राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाले जनसङ्ख्याका सामाजिक, आर्थिक र जनसाङ्ख्यिक सूचकमा महत्त्वपूर्ण सुधार आएको देखाएको छ । प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सूचकमा सुधार देखिए पनि देश विकास नहुँदै काम गर्ने उमेर घट्नु चिन्ताको विषय भएको स्वीकार गरे ।

२०६८ देखि २०७८ सम्मको अवधिमा २६ लाख ७० हजार ७४ जनसंख्या थपिएको छ । यो वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत मात्रै हो । देश आर्थिक तथा सामाजिक रुपमा विकासशील भए पनि जनसंख्या वृद्धिदर भने विकसित देशको जस्तै न्यून देखिएको छ ।

जनघनत्व प्रतिवर्ग किलोमिटर १९८ पुगेको छ भने जनसङ्ख्याको क्षेत्रीय वितरणमा झन् अन्तर देखिँदै गएको छ । तराईमा ५३ प्रतिशत, पहाडमा ४० र हिमालमा ६ प्रतिशत जनसंख्याको बसोबास छ । सहरी जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत छ भने ग्रामीण जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत छ । करिब २२ लाख जना विदेशमा छन् ।

१० वर्षअघि यस्तो संख्या १९ लाख थियो । सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा प्रतिवर्गकिलोमिटर ५ हजार १६९ जना र सबैभन्दा कम मनाङमा ३ जना छ । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८ दशकयताकै न्यून हो । भएका युवाबाट जनसांख्यिक लाभ लिन नपाउँदै वृद्धिदर घटेको हो ।

विक्रम संवत् १९८७ सालमा मुलुकको जनसंख्या वृद्धिदर माइनस शून्य दशमलव शून्य ७ प्रतिशत थियो । त्यसपछि औषत वृद्धिदर २ प्रतिशत हाराहारी पुग्यो । २०५८ को जनगणमा २ दशमलव २५ रहेको जनसंख्या वृद्धिदर २०६८ मा १ दशमलव ३५ प्रतिशतमा सीमित भयो भने अहिले १ प्रतिशतभन्दा पनि कम देखिएकाले सरकारले विशेष कदम चाल्नुपर्ने देखिएको छ ।

बढ्दो सहरीकरण र युवा जमात वैदेशिक रोजगारीमा जाने मोहले जनसंख्या वृद्धिदर १ प्रतिशतबाट तल झरेको हो । काम गर्न सक्ने सक्रिय जनशक्ति भने कुल संख्याको अर्थात् ६१ प्रतिशत अर्थात १ करोड ८० लाख मात्रै छ ।

थप...

यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या २९२८, कुल जनसंख्याको ०.०१ प्रतिशत
राष्ट्रिय जनगणना २०७८ : झन्डै डेढ करोड जनसंख्या आर्थिक काममा संलग्न
राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा
२.२ प्रतिशतमा अपांगता, पुरुष ५४.२ र महिला ४५.८ प्रतिशत
तथ्यांकमा बालकालिका : १ प्रतिशत मात्रै बाबुसँग बस्छन्, २६ प्रतिशतको जन्मदर्ता छैन
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement