सगरमाथा संवादमा १२ देशको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सगरमाथा संवादमा १२ देशको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने

काठमाडौं । जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादमा १२ देशको उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता रहने भएको छ । छिमेकी देश भारतबाट वनमन्त्री तथा चीनबाट नेशनल पिपल्स कंग्रेसका उपाध्यक्ष आउनुहुने भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज पत्रकार सम्मेलन गरी सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको र १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने निश्चित भएको जानकारी दिनुभएको हो । चीनबाट नेशनल पिपल्स कंग्रेस एनपीसीका उपाध्यक्ष सिआयो जी र भारतका वनमन्त्री भूपेन्द्र यादव आउनुहुने भएको छ । 

कप-२९ का अध्यक्ष तथा अजरबैजानका पारिस्थितिकीय तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायभ पनि सम्मेलनमा सहभागी हुनुहुने छ । सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनासहित झन्डै ३५० जना सहभागी हुने मन्त्री राणाले जानकारी दिनुभयो ।

मन्त्री राणाले सगरमाथा संवादको पूर्वतयारी स्वरूप १० वटा संवाद सम्पन्न भइसकेको जानकारी दिनुभयो । अब शुक्रबारदेखि सुरु हुने मुख्य सम्मेलन तीन दिनसम्म चल्नेछ । पहिलो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी ओली, चीन र भारतका प्रतिनिधि र कप- २९ का अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि १२ विभिन्न विषयमा छलफल हुने छ । 

अन्तिम दिन जेठ ४ गते सगरमाथा घोषणापत्र जारी गरेर सम्पन्न हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.