मोदीद्वारा सेनाको हवाई अखडा भ्रमण, आतंकवादविरुद्धको अभियान स्थगित मात्र गरिएको टिप्पणी

वैशाख ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
मोदीद्वारा सेनाको हवाई अखडा भ्रमण, आतंकवादविरुद्धको अभियान स्थगित मात्र गरिएको टिप्पणी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्जाबको आदमपुरस्थित सेनाको हवाई अखडाको स्थलगत भ्रमण गर्नुभएको छ । गत साता भारत र पाकिस्तानबीच सैन्य संघर्ष हुँदा पाकिस्तानी सेनाले यही आदमपुर हवाई अखडामा आक्रमण गरेर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस फोर हन्ड्रेड ध्वस्त पारेको दाबी गरेको थियो । 

यद्यपि भारतीय सेनाले भने पाकिस्तानको प्रयासलाई विफल पारेको दाबी गरेको छ । भारतका प्रधानमन्त्री मोदी आज त्यही स्थानमा पुगेर अवलोकन गर्नुभएको हो ।

यसअघि गए राति देशवासीका नाममा सम्बोधन गर्दै मोदीले आतंकवादविरुद्ध सुरु गरिएको सैन्य अभियान अपरेशन सिन्दूर समाप्त नभई स्थगित मात्र भएको र पाकिस्तानले चाल्ने कदमका आधारमा भावी कदम निर्धारण गरिने बताउनुभएको थियो । मोदीले भारतले पाकिस्तानमा गरेको सैन्य कारबाहीमा आतंकवादीका नौ वटा ठेगाना ध्वस्त पारिएको र एक सयभन्दा बढी आतंकवादी मारिएको दाबी समेत गर्नुभएको थियो । उहाँले पाकिस्तानसँग आतंकवाद र पाकिस्तान नियन्त्रित कश्मीरका विषयमा मात्र वार्ता हुन सक्ने पनि बताउनुभएको थियो ।

यसैबीच पाकिस्तानले भारतसँग भएको सैन्य संघर्षका क्रममा आफ्नो हवाई सेनाका एक जना स्क्वाड्रेन लिडरसहित हवाई र स्थल सेनाका गरी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । पाकिस्तानी सेनाको मिडिया विंगले आज विज्ञप्ति जारी गर्दै ७८ सैनिक जना घाइते भएको पनि स्वीकार गरेको हो । 

इन्टर सर्भिस पब्लिक रिलेसन्सका अनुसार भारतको आक्रमणमा ७ महिला र १५ बालबालिकासहित ४० जना गैरसैनिक मारिएको र अन्य १२१ जना घाइते भएका छन् । यता भारतीय सेनाले आइतबार गरेको पत्रकार सम्मेलनमा पाकिस्तानसँगको सैन्य संघर्षका क्रममा ५ सैनिक मारिएको बताएको थियो । पाकिस्तानले गरेको सीमापारि गोलबारीका क्रममा भने कम्तीमा १५ जना गैरसैनिक मारिएको बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकी हस्तक्षेपले एउटा सम्भावित खराब परमाणु युद्ध रोकेको बताउनुभएको छ । संघर्ष नरोके अमेरिकाले उनीहरूसँग कुनै व्यापार नगर्ने भन्दै दुवै पक्षलाई दबाब दिएको खुलासा समेत गर्नुभयो । अमेरिकाको मध्यस्थता र दबाबपछि भारत र पाकिस्तानबीच तनाव सिर्जना भएको चौथो दिन अर्थात् शनिबार संघर्षविरामको सहमति भएको थियो ।