काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताउनुभएको छ । मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानबिन हुने बताउनुभयो ।
उहाँले उक्त जग्गाबारे छानबिन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिनुभयो । उहाँले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “पहिला चलचित्र विकास कम्पनी भन्ने थियो । त्यसको जमिन हिनामिना छ भनेको सुन्दा म छक्क परें । तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यू यहीं हुनुहुन्छ । हप्ता, १० दिनमा त त्यसको पत्ता लगाई हाल्नुहोला । के भएको छ, हामी खोज्छौं । यदि कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्याएर कन्ट्रोलमा ल्याउँछौं ।”
प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताउनुभयो ।