अल्लोको कपडा बुनेर उद्यमी बन्दै सामुदायिक वनका महिला

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
अल्लोको कपडा बुनेर उद्यमी बन्दै सामुदायिक वनका महिला

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा सामुदायिक वनका महिलाहरूले सुरु गरेको अल्लोका कपडा उत्पादनले व्यावसायिक रूप लिँदै गएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको वन तथा कृषि सहज कार्यक्रममार्फत आर्थिक र प्राविधिक सहयोग पाएपछि अल्लो उद्योगले व्यावसायिक उत्पादन बढाएको हो ।

थाहा नगरपालिकाको ऋषेश्वर सामुदायिक वनका महिलाको सक्रियतामा २०६६ सालमा ऋषेश्वर महिला अल्लो कपडा उत्पादन उद्योग दर्ता गरेर सुरु भएको अल्लो कपडा उद्योगले धागो उत्पादनसँगै कपडाको थान तयार पार्ने र झोला बनाउने काम समेत थालेको छ ।

“सुरुमा हामीले सामुदायिक वनबाट अल्लो ल्याएर प्रशोधन गरी धागो उत्पादन गर्थ्यौं । त्यसपछि कपडा बुन्ने र यहीँ झोला तयार पार्ने काम समेत सुरु भएको छ”, ऋषेश्वर अल्लो आयआर्जन महिला समूहकी अध्यक्ष हिरा लामाले भन्नुभयो ।

वनबाट अल्लो ल्याएर त्यसको रेसा पकाउने र कमेरो माटोमा चोपेर पकाउने र त्यसलाई चुटेर धागो बनाउने गरिन्छ । रेसा नरम, बलियो र चम्किलो हुने भएकोले अल्लोको धागो र यसबाट उत्पादन हुने कपडा स्तरीय मानिन्छ । महिलाको प्रयासलाई फेकोफनसँगै बजारीकरणमा हेमवन्ती र स्थानीय तह तथा प्रदेश सरकारले समेत सघाउन थालेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघले पनि ‘एक वन एक उद्यम’ अभियान अघि बढाउँदै कृषि र वनमा आश्रित उपभोक्तालाई प्राकृतिक स्रोतबाट लाभ दिने उद्देश्यले सहयोग गर्दै आएको छ । थाहा नगरपालिका वडा नम्बर ३ र ४ का महिलाहरूको सक्रियतामा सञ्चालित उद्योगले थान कपडासहित झोला र अल्लोका अरू सामग्री पनि तयार गर्न थालेको छ । समूहमा १६ जना महिला सहभागी छन् ।

महिला उद्यमशीलता र आयआर्जनका लागि समूहका महिलाहरूको सीप र क्षमता विकाससँगै नीतिगत समस्यामा समेत सहयोग र सहजीकरण गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिनुभयो । महिलाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउन सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गरेपछि महिलाहरूले आफ्नै भवनमा अत्याधुनिक मेसिनबाट अल्लोका कपडा उत्पादन गर्न थालेका हुन् ।

महिला समूहका सदस्यहरूलाई उद्योग सञ्चालन र बजार विस्तारका लागि प्रोत्साहत गर्न फेकोफनले वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत मेसिनरी खरिदमा अनुदानसहित साना अनुदान र प्रत्यक्ष लाभग्राही अनुदान दिइने गरेको छ । सहलगानी पनि महासंघले गर्छ । ऋषेश्वर महिला अल्लो कपडा उत्पादन उद्योगमा आधुनिक चर्खा किन्न सहयोगसहित सहलगानी पनि गरिएको कार्यक्रम संयोजक जनक आचार्यले जानकारी दिनुभयो ।

मकवानपुरका चार वटा सामुदायिक वनबाट अल्लो संकलन हुने गरेको छ । महिला उद्यमलाई स्थानीय सरकारले पनि सहयोग तथा हौसला दिएकोले अल्लोबाट उत्पादन गरिएका कपडा बेच्न समस्या नभएको महिला आयआर्जन समूहले जनाएको छ ।

थाहा नगरपालिका वडानम्बर–४, नयांगाउँमा संचालित ऋषेश्वर महिला अल्लो कपडा उत्पादन उद्योगले अल्लोका कपडा उत्पादनमा नमुना बन्ने योजना समेत बनाएको अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार उद्योगको भवन बनाउनेदेखि सम्पूर्ण काम महिलाहरूले गरेका हुन् । जैविक विविधताले ऋषेश्वर सामुदायिक वन धनी रहेको र पहिचानको अभावमा खेर गइरहेको चिजबाट उपभोक्ताले राम्रो आय आर्जन गर्न सकून् भनेर उद्योग सञ्चालन गरिएको पनि अध्यक्ष लामाले बताउनुभयो ।

जाडोमा न्यानो र गर्मीमा सितलता प्रदान गर्ने भएकाले अल्लोबाट उत्पादित कपडा प्रतिमिटर ७ सयदेखि हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । अल्लोबाट कोट, झोला तथा विभिन्न डिजाइनका पर्स र पछ्यौराहरू बनाउन सकिन्छ । अल्लोबाट धागो निकालेर कपडा बुन्नको लागि धेरै समय लाग्ने र झन्झटिलो हुने भएकाले अन्य कपडाको तुलनामा भने यो महँगो पर्छ । तर अल्लोको महत्त्व बुझ्नेहरूले खोजीखोजी किन्न आउने गरेको अध्यक्ष लामाले बताउनुभयो ।

कतैकतै चाल्ने सिस्नो पनि भनेर चिनिने अल्लो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुला स्थान, खोला तथा ओसिलो स्थानमा पाइने वनस्पति हो । सरदर १२ सय मिटरभन्दा माथि मात्रै पाइने अल्लोको काण्डको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको धागो निकै राम्रो मानिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.