काठमाडौं । १० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८६८ व्यक्तिमध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जना गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् । जसलाई प्रतिशतका आधारमा हेर्दा ६२ दशमलव ५ प्रतिशत हुने तथ्यांक छ ।
जसमध्ये ४१.० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।
दश वर्ष वा सोभन्दा बढी उमेरका कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी, २१.९ प्रतिशत घरधन्दा, ११.० प्रतिशत वृद्ध अवस्था, ७.५ प्रतिशत पारिवारिक हेरचाह, ७.४ प्रतिशत अन्य, २.५ प्रतिशत अशक्त/बिरामी, २.२ प्रतिशत पेन्सन/आयस्ता र ०.३ प्रतिशत सामाजिक कार्य/स्वयंसेवा को कारणले नगरेको पाइएको छ ।
आर्थिक कामको क्षेत्र वा औद्योगिक क्षेत्रअन्तर्गत सबैभन्दा धेरै जनसंख्या कृषि, वन र माछापालनमा संलग्न छ । यो क्षेत्रमा संलग्न हुने पुरुषको संख्या ३९ लाख ८३ हजार ४१७ छ भने महिलाको संख्या ४६ लाख तीन हजार १४६ छ । यो दुवैलाई मिलाउँदा कृषि, वन र माछापालनमा संलग्न हुनेको संख्या ८५ लाख ८५ हजार ५६३ छ ।
यसैगरी सबैभन्दा कम बाह्य संघसंस्था एवं यसका अंगहरुका क्रियाकलापमा संलग्न जनसंख्या छ । जहाँ १३ हजार ५३१ जना संलग्न छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार गणना भएको १२ महिनाअगाडिको समयमा आर्थिक काम गरेका १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरु कुल एक करोड ४९ लाख ८३ हजार ३ सय १० जनामध्ये सबैभन्दा बढी आफ्नै काम गर्ने ५५.३ प्रतिशत, अरुको काम गर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने मात्र १४.५ प्रतिशत, रोजगारदाता १.४ प्रतिशत र उल्लेख नभएका ०.१ प्रतिशत छन् ।
प्रदेशगत रुपमा आफ्नै काम गर्ने सबैभन्दा बढी कर्णाली प्रदेशमा ६५.६ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा ४९.० प्रतिशत छन् ।
यस्तै अरुको काम गर्नेमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ३६.० प्रतिशत र कम कर्णाली प्रदेशमा १५.२ प्रतिशत छन् ।
यसैगरी रोजगारदाता सबैभन्दा बढी वाग्मती प्रदेशमा २.२ प्रतिशत र कम कर्णाली र सुदूरपश्चिम प्रदेशमा १.० प्रतिशत रहेका छन् ।
लैंगिक रुपमा आफ्नै काम गर्ने पुरुष ५२.० प्रतिशत र महिला ५९.० प्रतिशत छन् । अरुको काम गर्ने पुरुष ३४.७ प्रतिशत र महिला २१.९ प्रतिशत छन् ।
थप समाचार...
राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा
२.२ प्रतिशतमा अपांगता, पुरुष ५४.२ र महिला ४५.८ प्रतिशत
तथ्यांकमा बालकालिका : १ प्रतिशत मात्रै बाबुसँग बस्छन्, २६ प्रतिशतको जन्मदर्ता छैन
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व