काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं र कम मनाङ देखिएको छ । काठमाडौंमा २० लाख ४१ हजार ५८७ जना रहेको तथ्यांक छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ५ हजार ६५८ जनाको बसोबास छ ।
नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ छ भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको 'राष्ट्रिय जनगणना २०७८-नतिजा’ मा अन्तिम नतिजा आएको हो । जसअनुसार नेपालको जनसंख्यामध्ये पुरुष ४८ दशमलव ९८ प्रतिशत र महिलाको संख्या ५१ दशमलव ०२ प्रतिशत छ ।
२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो दश वर्षको अवधिमा २६ लाख ७० हजार ७४ जनसंख्या बढेको छ ।
अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को संख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या दुई हजार ९२८ देखिएको छ । जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन आउँछ । कुल अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा छ । जहाँ ३२.७ प्रतिशत अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को संख्या छ । सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ ।
कुन प्रदेशमा कति जनसङ्ख्या ?
यसैगरी भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) रहेको छ ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण सबैभन्दा धेरै जनसंख्या वाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।
जिल्लागत रूपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जना रहेको तथ्यांक छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो । जहाँ ५ हजार ६५८ जनाको बसोबास छ ।
नगरपालिका र गाउँपालिका बस्ने कति ?
२०७८ को जनगणनाअनुसार नगरपालिकाहरूमा बस्ने जनसङ्ख्या ६६.१७ प्रतिशत रहेको छ । यस्तै गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत छ । २०६८ सालको जनगणनाअनुसार भने नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत थियो ।
प्रदेशअनुसार जनसंख्या परिवर्तन
१० वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा जनसंख्या थपिएको छ । लुम्बिनी प्रदेशमा १३ दशमलव ८४ जनसंख्या थपिएको हो । यसैगरी सबैभन्दा कम अर्थात् २ दशमलव ६१ प्रतिशत जनसंख्या गण्डकी प्रदेशमा थपिएको छ । प्रदेशगत रुपमा लुम्बिनी प्रदेशमा यो १० वर्षको अवधिमा १.२४ प्रतिशत जनसंख्या वृद्धिदर भएको हो । सबैभन्दा कम वृद्धिदर रहेको गण्डकी प्रदेशमा शून्य दशमलव २५ प्रतिशतले वार्षिक रुपमा जनसंख्या बढेको छ ।
जिल्लाअनुसार वृद्धिदर
हिमाली र पहाडी क्षेत्रका ३४ वटा जिल्लामा वार्षिक वृद्धिदर घटेको देखिएको छ । यस्तै गत २०६८ को जनगणनाअनुसार २७ वटा जिल्लामा जनसंख्या ऋणात्मक देखिएको हो । जसमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर जिल्लामा ३.३५ प्रतिशत र सबैभन्दा बढी वार्षिक जनसंख्या घट्ने दर रामेछाप जहाँको ऋणात्मक दर १.६७ प्रतिशत रहेको छ ।
हिमाली जिल्लाहरुमध्ये मुगु सबैभन्दा बढी १.४९ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहेको छ ।
थप समाचार...
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व