काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १९ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५ सय ८३ छ । जसमध्ये ७७.९ प्रतिशत बालबालिकाहरु आमाबाबु दुवैसँग बस्ने गरेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजाअनुसार १७.१ प्रतिशत बालबालिका आमासँग मात्र बस्छन् भने १ प्रतिशत बाबुसँग मात्रै बस्छन् ।
त्यस्तै, अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेका छन् ।
२६ प्रतिशत बालबालिका जन्मदर्ताविहीन
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाको संख्या ३० लाख ७ हजार ६४८ छ । जसमध्ये ७४ प्रतिशतले मात्र जन्मदर्ता गरेको देखिन्छ भने २६ प्रतिशतको जन्मदर्ता नगरेको भेटिएको छ ।
यसैगरी जन्म दर्ता गर्नेको संख्या हिमालमा ८१.९, पहाडमा ७३.१ र तराईमा ७३.७ प्रतिशत देखिन्छ । त्यस्तै सबैभन्दा बढी कर्णाली प्रदेशमा जन्म दर्ता गराएको तथ्यांक सार्वजनिक भएको छ । कर्णालीमा सबैभन्दा बढी ८७.३ र वाग्मती प्रदेशमा सबैभन्दा कम ६७ प्रतिशत बालबालिकाले जन्म दर्ता गराएको पाइएको छ ।