सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार्य छन् : सञ्चारमन्त्री गुरुङ

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार्य छन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै विरोधका लागि मात्रै विरोध नगर्न सचेत गराउनुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, “तपाईंहरू सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरू खण्डन हुनसक्छ । त्यो हामी स्वीकार्न तयार छौं । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला । त्यो हामी सहर्ष स्वीकार्न तयार छौं ।”

उहाँले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूले नेपालको कानुन मान्नैपर्ने उहाँले बताउनुभयो । “यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरू छन् । त्यसको प्रयोग जसले गरिरहेको छ । त्यसले नेपालको संविधान मान्नुपर्ने कि नपर्ने ? तपाईंहरू सबैले नेपालको कानुन मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्यूले पर्छ । राष्ट्रपतिज्यूले मान्नुपर्छ । अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा । त्यसको पक्षमा हामी किन लागिरहेका छौं । त्यसको नियमन जरुरी छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसद्‌मा पेश भइसकेको र चाँडोभन्दा चाँडो पारित गर्ने बताउनुभयो । साइबर क्राइम नियन्त्रण गर्ने कुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.