अहिलेको वातावरण बिगारेको दोष ओलीजीमा जान्छ : हरिबोल गजुरेल

फाल्गुन १६, २०७९ |सुमन पन्थ|अवतार राई
अहिलेको वातावरण बिगारेको दोष ओलीजीमा जान्छ : हरिबोल गजुरेल

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गत पुस १० गते नेकपा एमाले अध्यक्ष केपी ओलीसँग गरिएको सम्झौताका बलमा मुलुकको प्रधानमन्त्री बन्न सफल भए । तर झन्डै दुई महिनापछि माओवादी-एमालेबीचको सहकार्य टुंगिएको छ । माओवादी-एमालेबीचको गठबन्धन टुंगिनुमा दुवैले एक-अर्कालाई दोषारोपण गरिरहेको अहिलेको अवस्था छ ।

माओवादीलाई सघाउँदै सरकारमा गएको एमाले सरकारलाई दिएको समर्थनसँगै बाहिरिएको छ । उता नेपाली कांग्रेसलाई राष्ट्रपति पदमा सघाउने भन्दै माओवादीले नयाँ गठबन्धन बनाएर अघि बढेको छ । सोमबार मात्र सरकारबाट बाहिरिएपछि दुवै दलबीच एक-अर्कालाई आरोप-प्रत्यारोमा उत्रिएपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।

नयाँ गठबन्धनले अहिले पूर्णता पाइसकेको अवस्था भने छैन । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार राष्ट्रपतिको चुनाव नसकीकन, गठबन्धनले ठोस रूप लिने सम्भावना कम छ ।

उनी भन्छन्- किनभने सरकार छाडेर समर्थन फिर्ता लिएपछि पुरानो गठबन्धन भत्कियो नि । औपचारिक रूपमा भत्कियो । एमालेले फिर्ता लिएपछि भत्कियो । भत्किसकेपछि नयाँ गठबन्धन बन्ने जुन प्रक्रिया छ । यो प्रक्रिया अब अन्तिम चरणमा पुग्छ । पुगेपछि त्यसपछि राष्ट्रपतिको निर्वाचन पनि सकिन्छ । त्यसपछि सरकारमा कसले कुन-कुन मन्त्रालय लिने, को-को सहभागी हुने/नहुने भन्ने सर्तमा टुंगिन्छ ।

प्रस्तुत छ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलसँग कान्तिपुर टीभीले गरेको कुराकानीको अंश :

अहिले एमाले र माओवादीको गठबन्धन टुटेको छ । यो टुट्नुमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रमुख दोषी रहेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाउनुभएको छ । के साँच्चै पुष्पकमल दाहालले गर्दा यो गठबन्धन टुटेको हो ?

यो त कसले, कसलाई, कतिखेर, कहिले धोका दियो भन्ने बुझ्न इतिहासतिर फर्किनुपर्छ । नेकपा बन्नेबेलामा आलोपालो प्रधानमन्त्रीको लिखित सहमति भएको थियो । बकाइदा वामदेव गौतम र जनार्दन शर्मासहित बसेर लिखित सहमति भएको कुरो उहाँले पालन गर्नुभएन । त्योचाहिँ धोका भएन । अहिले राष्ट्रपतिको सन्दर्भमा हतारहतारमा एउटा सहमति गर्नुपर्ने बालकोटमा एउटा परिस्थितिजन्य, एउटा बाध्यता थियो । त्यो बेलामा ल ठीकै छ भनेर भनिएको विषय र पछि नेपाली कांग्रेसले संसद्मा विश्वासको मतमा समर्थन दिएर राष्ट्रिय सहमतिको नयाँ परिवेश बनेको सन्दर्भमा माओवादीले अब राष्ट्रिय सहमतितिर जानुपर्छ । नेपाली कांग्रेसलाई अब राष्ट्रपति दिउँ, सभामुख एमालेको छँदै छ । आलोपालो हाम्रो प्रधानमन्त्रीको कार्यकाल छँदै छ भन्ने कुरो कसरी धोका हुन्छ ? कसरी धोका भयो ? बरु उहाँले पहिले विवाद भएका विषय फेरि उठाएर, तपाईं-हामी सबैलाई थाहा छ । दुईचोटि संसद् विघटन गरेको विषयमा त्यत्रो बहस भयो, छलफल भयो । संसद पुनःस्थापनाको विवादित विषयमा फेरि त्यो संसद विघटन गर्नु सही थियो भनेर बोल्दिनुभो । जबकि प्रचण्डको भनाइ के थियो भने संसद विघटन गर्नु सही थियो कि गलत थियो, त्यो कुनै समयमा गएर अनुकूलित वातावरणमा छलफल गरौंला, अहिले पछाडि फर्केर नसोचौं है भन्दाभन्दै उहाँले असहज स्थिति सिर्जना गरिदिनुभयो र सबैलाई तरंगित गराइदिनुभयो । संसद पुनःस्थापनाको पक्षमा गएका दलहरू जो आन्दोलनकारी थिए । ती सबैलाई तरंगित गराइदिएपछि यो असहज स्थिति पैदा भयो एउटा कुरो । दोस्रो कुरो सरकारको नीति कार्यक्रमहरू गठबन्धनका तर्फबाट पेस गर्दा जुन ढंगले प्रधानमन्त्रीलाई सिंहदरबारभित्र ह्युमिलेट गर्ने हिसाबले क्रियाकलापहरू देखियो । र सँगसँगै प्रधानमन्त्रीलाई अर्थमन्त्री पनि छैन, गृहमन्त्री पनि छैन । पहिलाको प्रचलन के हो भने प्रधानमन्त्रीले अर्थमन्त्री या गृहमन्त्रीमध्ये एउटा राख्ने चलन हो नि । उहाँले सदाशयपूर्वक एउटा राख्नुपर्छ है भन्ने ठाउँमा घेराबन्दी गरेर असहज स्थिति सिर्जना गर्नुभयो । मलाई लाग्छ अहिलेको वातावरण बिगारेको दोष ओलीजीमा जान्छ । ओलीजीलाई अवसर आएको थियो नि त । यतापट्टिको गठबन्धनमा कांग्रेसले राष्ट्रपति पनि प्रधानमन्त्री पनि दुइटै नदिएपछि माओवादी एमालेसँग सहकार्य गर्न पुगेको हो । जसले ओलीजीका लागि अनुकूल स्थिति त पैदा भएको थियो नि । त्यसलाई सदुपयोग गर्नुपर्थ्यो । उल्टै, संसद् विघटन गर्नु सही थियो भन्दिने । गृहमन्त्री र अर्थमन्त्री दुवैबाट बाहिर गर्ने । सरकारको नीति कार्यक्रम, गठबन्धनको नीति कार्यक्रम प्रस्तुत गर्दा पनि ह्युमिलेट गर्ने ढंगले प्रस्तुत गर्ने जो गतिविधि गर्नुभयो । त्यो त छर्लंगै छ नि भन्या ।

पुस १० गते तपाईंहरूले जुन भद्र सहमति गर्नुभयो । त्यो सहमतिमा ओलीले रटान लगाइरहनुभएको छ । दाहालले सहमति पालना गर्नुभएन, त्यहाँ धोका भयो मलाई भनिरहनुभएको छ ।

उहाँले प्रस्ट भन्नुभएको छ- परिस्थिति बललियो । किनभने तपाईं-हामी सबैलाई थाहा छ नि । अन्तरिम संविधान २०६३ मा जारी भयो । त्यसमा सहमतीय प्रणाली थियो । संविधान नबन्दासम्म दलहरू सहमतिमा अघि बढ्नुपर्छ भनेर त्यो प्रावधान अन्तरिम संविधानमा राखिएको थियो । २०६४ को निर्वाचनमा माओवादीको एकतिहाइभन्दा बढी सिट आइसकेपछि कांग्रेसलाई के लाग्यो भने एकतिहाइभन्दा बढी सिट आइसकेपछि त अब हटाउन त कुनै उपाय छैन । किनभने हटाउनलाई त दुईतिहाइ चाहिन्छ । भनेपछि संविधान फेरि संशोधन नगरीकन कांग्रेस सत्ता छाड्न तयार भएन । र त्यो संविधानलाई संशोधन गरेर बहुमतीय प्रणालीतर्फ लगियो । जसले गर्दा दुई वर्ष म्याद थप्दा पनि संविधान बनेन । दोस्रो संविधानसभाको कार्यकालमा भूकम्पले एउटा विशिष्ट परिस्थिति पैदा गरिदियो । चौतर्फी नेताहरूमाथि आक्रमणहरू भयो । मिडियाहरूमा विभिन्न ढंगले त्यस्ता वक्तव्यबाजीहरू भए । त्यस्तो एउटा परिवेश तयार भयो । त्योबेलामा अब यो परिवर्तनको रक्षा गर्नका लागि, संविधान निर्माणका लागि नेताहरू एकठाउँमा आउनुपर्छ है, भूकम्पले एउटा अवसर जुटाइदियो भनेर सहमति गरेर फेरि संविधान बनाइयो । संविधान बनाइसकेपछि संविधान कार्यान्वयन नहुँदासम्म मिलेर जानुपर्छ भनेर एउटा सहमति गरियो । त्यसका लागि सुशील कोइराला राष्ट्रपति, केपी शर्मा ओली प्रधानमन्त्री, माओवादीलाई सभामुख दिएर जाऔं भनेर एउटा सहमति भयो । त्योबेलामा सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिनुभयो । र, त्यो पनि बिग्रियो । नेपालको राजनीतिक धेरै अफ्ठ्यारो स्थितितिर गयो । र पछिल्लो समय परिवर्तनकारी दलहरू फेरि एकठाउँमा आउने वातावरण बन्यो । त्यसको सदुपयोग गर्नु राम्रो कुरो होइन ? अस्थिरता जुन भइरहेको छ । खिचातानी भएर सरकार गिर्ने बन्ने खेल भइरहेका छन् । यो बेलामा कांग्रेसले समर्थन गरिदिएपछि त सहज वातावरण बनाएर त्यसलाई सहकार्य गरेर जानुपर्ने थियो नि त । तपाईं कसैले कसैलाई उम्मेदवार बनाउँछ भने त्यसलाई समर्थन गर्नेलाई धन्यवाद पो दिनुपर्छ त । कांग्रेसलाई गाली गर्नुभो उहाँहरूले । संसदमै गाली गर्नुभयो ।

प्रधानमन्त्रीबाट इतिहासका कालखण्डमा कमीकमजोरी भएकै छैनन् भनेकै छैन । तर यो सबै घटनाक्रमलाई गलत दिशातर्फ लाने मूल भूमिका कसले गर्‍यो ? ठूलो गल्ती कसले गर्‍यो भन्ने कुरा हो नि त । हामीले देखेरै आएका छौं नि । नेकपा कसरी टुट्यो ? कस्तो स्थिति पैदा भो ? देश कुन संकटतिर गयो ?

ओलीबाट ब्रेक भइसकेपछि तपाईंहरूले आठदलीय गठबन्धन बनाउनुभएको छ । ओलीले अझै भन्दै हुनुहुन्छ- हाम्रो आठदलीय गठबन्धन कायमै छ । यसलाई कसरी लिने ?

त्यो त स्वभाविकै कुरा हो । त्यसलाई अन्यथा लिनुहुन्न हामीले । उम्मेदवार उठाउनेले जित्छ, हाम्रो मत आउँछ भन्नु त अन्यथा लिन मिल्दैन । ससमा हामीले अन्यथा लिन मिल्दैन । तर, मैले भन्न खोजेको कुरा के भने माओवादीको प्रचण्डलाई धोका दियो भनेर ओलीजीले त भन्न मिल्दैन । ओलीजीले जसलाई पनि धोकै दिइरहनुभएको छ । तपाईंलाई थाहा छ कि किन यो स्थिति पैदा भयो ? कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुइटै नदिने भन्नेमा किन पुग्यो ? ओलीजीले के भन्नुभएको छ भने- १० गते २ बजे हामी शीतलनिवास आउँछौं । माओवादीलाई प्रधानमन्त्री नदिनुस् । ३२ सिट भएकालाई किन प्रधानमन्त्री दिने ? तपार्ईंहरू सरकार बनाउनु हामी समर्थन गरिदिन्छौं । भनेर भनेपछि कांग्रेस ढुक्क भएर बस्या हो प्रधानमन्त्री त काहीँ पनि नजाने भयो । राष्ट्रपति पनि आउने, प्रधानमन्त्री पनि आउने भनेर त्यो स्थिति कसले सिर्जना गरेको हो ?

अबको राष्ट्रपतिको निर्वाचनमा माओवादीलाई आठ दलले समर्थन गरेको छ । उता ओली भन्नुहुन्छ हाम्रो गठबन्धन टुटेकै छैन । गठबन्धन टुटेको हो कि होइन ?

उहाँले सरकार छाड्ने निर्णय गरिसक्नुभयो । सरकार छाडिसकेपछि त गठबन्धन त टुटिहाल्यो । अब नयाँ गठबन्धन कसरी, कुन रूपमा बन्छ । स्वतन्त्र पार्टीले निर्णय गर्न बाँकी नै छ । यो परिस्थिति १-२ दिनमा क्लियर हुन्छ ।

सबै परिवर्तनलाई उल्टाउन खोज्ने । ओलीजीले अमेरिका गाडा चढेर पुग्नु र नेपालमा गणतन्त्र ल्याउनु एउटै कुरा हो भन्या होइन ? गणतन्त्र आइसकेपछि मैले गल्ती बोलेछु, साथीहरूले प्रयास गर्नुभयो, प्रयत्न गर्नुभयो, गणतन्त्र आयो भनेर त उहाँले गर्व गर्नुपर्ने । त्यसमा आत्मालोचना गर्नुपर्ने मैले बुझेको रहेनछु भनेर कहिल्यै गर्नुभएन । उहाँले त्यही पुरानै चिज फर्काउन खोज्दै हुनुहुन्छ ।

कूटनीतिको सीमा नाघेर परराष्ट्रमन्त्रीलाई जेनेभा नपठाउने निर्णय प्रधानमन्त्रीले गर्नुभयो । प्रधानमन्त्रीले कूटनीतिको न्यूनतम सीमासमेत नाघ्नुभयो भन्ने आरोप छ नि ? के भन्नुहुन्छ ?

होइन, यो बेकार कुरो । ओलीजीले के भाषण गर्नुभयो तपाईंले देख्नुभयो नि त अस्ति ? प्रधानमन्त्रीलाई कस्ता-कस्ता अपशब्द प्रयोग गरी अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्रीलाई गाली गरिसकेपछि त्यो पार्टीको मन्त्रीलाई अनि अन्तर्राष्ट्रिय मञ्चमा गएर फेरि अर्को गाली गर्ने त्यस्तै अवसर दिने हो त ? त्यही ठीक हुन्थ्यो ? उहाँहरूको नेता त केपी शर्मा ओली हो नि । उहाँले बनाएको मन्त्री हो नि । उहाँले खुलेआम मिडियामा गएर प्रधानमन्त्रीको विरुद्धमा त्यसरी बोलिसकेपछि उहाँलाई ल जानुस्-जानुस् भन्ने हुन्छ ? वातावरण बन्छ त्यहाँ ? त्यहाँ उहाँहरू गइहालेपछि प्रधानमन्त्रीलाई अफ्ठ्यारो पर्दैन ? परराष्ट्रमन्त्रीलाई बरु सजिलो भइदियो ।

अहिले एमालेले सरकारको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिइसकेको अवस्था छ । अब आठदलीय गठबन्धन छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । मन्त्रिपरिषद्ले कहिलेसम्ममा पूर्णता पाउँछ ?

राष्ट्रपतिको चुनाव नसकीकन, गठबन्धनले ठोस रूप लिन पनि बाँकी छ । किनभने सरकार छाडेर समर्थन फिर्ता लिएपछि पुरानो गठबन्धन भत्कियो नि । औपचारिक रूपमा भत्कियो । एमालेले फिर्ता लिएपछि भत्कियो । भत्किसकेपछि नयाँ गठबन्धन बन्ने जुन प्रक्रिया छ । यो प्रक्रिया अब अन्तिम चरणमा पुग्छ । पुगेपछि त्यसपछि राष्ट्रपतिको निर्वाचन पनि सकिन्छ । त्यसपछि सरकारमा कसले कुन-कुन मन्त्रालय लिने, को-को सहभागी हुने/नहुने भन्ने सर्तमा टुंगिन्छ ।

एमालेले लिएका जति मन्त्रालय कांग्रेसलाई दिन तपाईंहरू राजी हो ?

कसलाई कति दिने भन्ने कुरो त शक्तिअनुसार दिने कुरो न त हो । हिजो पनि गरेको कुरो त्यही नै हो । प्रधानमन्त्रीलाई अर्थ पनि नदिने, गृह पनि नदिएर पावरहीन बनाएर त्यो कुर्सीमा राख्नु त राम्रो होइन नि ।

अर्थमन्त्रीमा पुरानै (जनार्दन शर्मा) लाई दोहोर्‍याउने भन्ने भएको हो पार्टीभित्र ?

त्यो त अब छलफल हुन्छ । कसलाई बनाउने भनेर । अर्थ र गृहमध्ये एउटा त अर्को दललाई दिनैपर्ने हुन्छ ।

उसो भए २५ गतेयता सरकार बन्दैन ?

बन्दैन । किनभने अब समय आइ नै सक्यो । त्योभन्दा अगाडि गृहकार्य त हुन्छ । तयारीका सबै छलफलहरू, तयारीहरू त अगाडि बढ्छन् । सम्भव भए त अगाडि नै गर्दा पनि केही फरक पर्ने कुरो त भएन । तर पनि स्वतन्त्र पार्टीले समर्थन त कायम गर्नुभएको छ तर सरकारमा सामेल हुने कि नहुने भन्ने निर्णय गरिसक्नुभएको छैन । यो टुंगिन बाँकी छ । यो टुंगिएपछि सरकार गठन गर्दा पनि केही फरक पर्दैन ।

पुस १९ र २० मा प्रधानमन्त्रीले सचिवहरूलाई सामूहिक राखेर निर्देशन दिनुभएको थियो । त्यो कत्ति पनि कार्यान्वयन भएको छैन । अहिले तपाईं लाइसेन्समा जानुस् त्यस्तै भिड छ, राष्ट्रिय परिचयपत्रमा जानुस् त्यस्तै भिड छ । प्रधानमन्त्रीको निर्देशन त कर्मचारीहरूले टेरेजस्तो त लागेन नि ?

कार्यान्वयन त केही रूपमा त भइरहेकै छ नि । तपाईंले भनेजस्तो केही पनि भएको छैन भन्ने होइन । परिस्थिति त बदलियो नि । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि असहज परिस्थिति त भयो नि । पछिल्ला घटनाक्रम राष्ट्रपतिको चुनावका सन्दर्भमा भएका बहसहरू छलफलहरूले अलि असहज स्थिति बनाइदियो । त्यसको असर त परिहाल्छ नि । त्यसको असर पार्टीहरूमा पर्छ, मन्त्रीहरूमा पर्छ । सरकारका काम कारबाहीमा त परिहाल्छ नि । केही न केही असर त पर्छ । अब छिटै त्यो समस्या समाधान हुन्छ र नयाँ शिराबाट त्यसलाई अगाडि बढाइन्छ । 

यो पनि...

‘सरकारबाट एमाले बाहिरियोस् भन्ने प्रधानमन्त्रीको मनसाय थियो, मन्त्रीहरुलाई अपमान गर्नुभयो’
 विज्ञ भन्छन्- परराष्ट्रमन्त्रीको विदेश भ्रमण राेक्ने प्रधानमन्त्रीको निर्णय अपरिपक्व ! (भिडियो रिपोर्ट)
गोविन्द बन्दीको जेनेभा भ्रमणको वैधानिकतामाथि प्रश्न (भिडियोसहित)
प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको स्विट्जरल्यान्ड भ्रमण, पूर्वमन्त्रीलाई पठाइयो


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement