‘सरकारबाट एमाले बाहिरियोस् भन्ने प्रधानमन्त्रीको मनसाय थियो, मन्त्रीहरुलाई अपमान गर्नुभयो’

फाल्गुन १५, २०७९ |विकास आचार्य
‘सरकारबाट एमाले बाहिरियोस् भन्ने प्रधानमन्त्रीको मनसाय थियो, मन्त्रीहरुलाई अपमान गर्नुभयो’

काठमााडौं । निर्वतमान स्वास्थ्य मन्त्री पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका मन्त्रीहरूको निर्देशन पालना नगर्न सचिवहरूलाई निर्देशन दिएको दाबी गरेका छन् । दाहालको एमाले विरोधी मनासायका कारण आफूहरू क्याबिनेटबाट बाहिरिएको उनको तर्क छ ।

कान्तिपुर टेलिभजनका लागि विकास आचर्यसँगको कुराकानीमा एमाले नेता गिरीले भने, ‘मन्त्रालयका सचिवहरूलाई उहाँले बोलाउनु भयो । बालुवाटारमा राखेर नेकपा एमालेका मन्त्रीले दिएका निर्देशन पालना नगर्नू, कार्यान्वयन नगर्नू भनेर उहाँले निर्देशन पनि दिन थाल्नुभयो ।’

सरकारबाट एमाले बाहिरियोस भन्ने मनसाय बोकेका दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई विदेश भ्रमणबाट रोकेर अपमान गरेको उनको तर्क छ । उनले भने, ‘ परराष्ट्रमन्त्री ज्यूलाई त्यही क्याबिनेटबाट जनेभाको कार्यक्रममा जान निर्णय गर्नुहुन्छ अनि एयरपोर्ट हिँडेको मान्छेलाई बाटैबाट रोकेर उहाँ फर्काउनु हुन्छ । त्यति ठूलो चरम अपमान पनि उहाँले गर्नुभयो ।’

आफूहरूको सामूहिक राजीनामाले निराश अनुहार बनाएका प्रधानमन्त्रीले विशेष बाध्यताले एमालेसँगको सहमति तोडेको हुनसक्ने उनको तर्क छ । राजीनामा बुझ्ने समय प्रधानमन्त्रीले के भन्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले त प्रधानमन्त्रीको अनुहार हेरेँ । उहाँ एकदम नर्मस (निराश) हुनुहुन्छ । कुनै एउटा विशेष बाध्यता आइलागेको छ, जसले गर्दाखेरी उहाँ नेकपा एमालेसँग गरेको कमिटमेन्टबाट उहाँ पछाडि हट्नुभएको छ । र आज उहाँले धेरै कुरा बोल्न पनि चाहनुभएन।’ प्रस्तुत छ मन्त्री पदबाट राजीनामा बुझाएपछि गिरीसँगको संक्षिप्त कुराकानी :

सरकारबाट बाहिरिने अवस्था कसरी आयो ?

पुस १० गते नयाँ राजनीतिक घटनाक्रम विकास भयो । नेपाली कांग्रेस, नेकपा माओवादीलगायतको पाँच दालको निर्वाचनभन्दा अगाडि गठबन्धन थियो । उक्त गठबन्धनबाट सहमतिको सरकार नबन्ने अवस्था बनेपछि हामी सरकारमा जानुपर्ने स्थिति आयो र हामीले पुष्पकमल दाहालाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेर क्याबिनेटमा गयौं । दुर्भाग्य के भयो भने- पुस १० गते जे सहमति भएको थियो। ती सहमति प्रधानमन्त्रीले नै लत्याउनु भयो ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर फरक-फरक मत हुन सक्थे । त्यसबाहेक सरकारबाट पनि एमाले बाहिरियोस् भन्ने मनसायका साथ उहाँले त्यस्ता व्यवहार देखाउन थाल्नुभयो । परराष्ट्रमन्त्री ज्यूलाई त्यही क्याबिनेटबाट जनेभाको कार्यक्रममा जान निर्णय गर्नुहुन्छ अनि एयरपोर्ट हिँडेको मान्छेलाई बाटैबाट रोकेर फर्काउनु हुन्छ । त्यति ठूलो चरम अपमान पनि उहाँले गर्नुभयो ।

मन्त्रालयका सचिवहरूलाई उहाँले बोलाउनु भयो । बालुवाटारमा राखेर नेकपा एमालेका मन्त्रीले दिएका निर्देशन पालना नगर्नू, कार्यान्वयन नगर्नू भनेर उहाँले निर्देशन पनि दिन थाल्नुभयो । यी सबै घटनाक्रमले के देखायो भने- अब हामी सरकारमा बस्न उपयुक्त छैन । बस्नु हुँदैन । प्रधानमन्त्री स्वयंले नचाहेपछि सरकारमा बस्ने कुरा पनि भएन ।

राजीनामा दिने क्रममा बालुवाटारमा प्रधानमन्त्रीले केही भन्नुभयो ?

मैले त प्रधानमन्त्रीको अनुहार हेरेँ । उहाँ एकदम नर्मस (निराश) हुनुहुन्छ । कुनै एउटा विशेष बाध्यता आइलागेको छ, जसले गर्दाखेरी उहाँ नेकपा एमालेसँग गरेको कमिटमेन्टबाट उहाँ पछाडि हट्नुभएको छ । र  उहाँले धेरै कुरा बोल्न पनि चाहनु भएन । 

उहाँले के भन्नुभयो भने- तपाईंहरूसँग सहकार्य गरेर मैले राम्रो काम गरेँ । तर परिस्थिति यस्तो बन्यो हामीसँगै जान सकेनौं । त्यसकारण तपाईंहरू आज राजीनामा लिएर आउने स्थिति बन्यो । योभन्दा थप मैले केही भन्नु छैन भनेर मसँग भन्नुभयो ।

स्वास्थ्य मन्त्रालय कतिको जटिल ठाउँ रहेछ, ४२ दिनको अनुभवले के भन्छ ?

म तपाईंलाई ‘अनेस्टली’ भन्छु । स्वास्थ्य क्षेत्रमा एकदमै ठूलो विकृती-विसंगती छ । धेरै ठूलो बेथिति छ । तर आम जनतासँग जोडिएको क्षेत्र स्वास्थ्य हो । त्यसकारण स्वास्थ्य सेवालाई गरिब जनताको पहुँचमा पुर्‍याउन जरुरी छ । सुलभ र गुणस्तर स्वास्थ्य सेवा दिन अत्यन्तै जरुरी छ । त्यसकारण फोहोर फाल्न पनि एक पटक फोहोरमा पस्नुपर्छ भन्ने हिसाबले मैले यो मन्त्रालयको जिम्मेवारी लिएर गएको हो । मलाई त्यहाँ कर्मचारीलगायत मिडियाका सबै साथीले साथ सहयोग दिनुभयो ।

हामीले धेरै काम अगाडि बढाएका थियौं । न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने भनेर मैले मन्त्री भएपछि सुरुमै हस्ताक्षर गरेको थिएँ । त्यहीभित्र रहेर स्वास्थ्य सेवा प्रभावकारी बनाउने, अस्पताललाई डिजिटललाइज प्रणालीमा लाने, आजसम्म नर्स, डाक्टर मन्त्रालयमा डिजिटल प्रणालीबाट आएका छैनन् । कुन स्वास्थ्यकर्मी कता छ अझै पनि अन्योलको अवस्था थियो । त्यसलाई डिजिटल प्रणालीभित्र लाने, त्यस्तै अस्पतालका पूर्वाधार विकास गरेर लाने, सरसफाइमा ध्यान दिने र अस्पतालमा बिरामीले लामो समय लाइन बस्नुपर्ने कुराको अन्त्य गर्ने, लाइन होइन अनलाइन प्रणालीको विकास गर्नेतर्फ हामी थियौं । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।