प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको स्विट्जरल्यान्ड भ्रमण, पूर्वमन्त्रीलाई पठाइयो

फाल्गुन १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको स्विट्जरल्यान्ड भ्रमण, पूर्वमन्त्रीलाई पठाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मन्त्री राईलाई रोकेर पूर्वमन्त्री गोबिन्द बन्दीलाई सरकारले जनेभा पठाएको छ । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मानवअधिकार परिषद्को ५२औं सत्रमा सहभागी हुन मन्त्री राई आज (आइतबार) स्विट्जरल्यान्डको जेनेभा जाने कार्यक्रम थियो ।

प्रधानमन्त्री दाहालले फोन गरेर भ्रमणमा नजानू भनेको मन्त्री राईको सचिवालयले जनाएको छ । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी राईलाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।

जेनेभाबाटै उनी अतिकम विकसित मुलुक (एलडीसी) को सम्मेलनमा भाग लिन दोहासमेत जाने कार्यक्रम थियो ।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । ५२औं सत्रमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयको तयारी थियो ।

आइतबार बिहान मन्त्री राईले पत्रकार सम्मेलन गर्दै नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामबारे विश्व मञ्चमा जानकारी गराउने जनाएकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.