
काठमाडौं । हङकङको ताइ पाओ जिल्लामा रहेको ‘वाङ फुक कोर्ट’ आवासीय भवनमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ। हिजो दिउँसो सुरु भएको आगो नियन्त्रणमा आएको हङकङका प्रमुख कार्यकारी जोन लीले बताउनुभएको छ ।
आगलागीमा झन्डै ३ सय जना अझै सम्पर्कविहीन रहेको र ५५ जनाको उद्दार गरिएको बीबीसीले जनाएको छ । प्रमुख कार्यकारी लीले सम्पर्कविहीन भएकाहरुको खोजी र उद्दार तीब्र पारिएको जानकारी पनि दिनुभयो । उहाँले हङकङ सरकारले आगलागी प्रभावितहरुका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरिएको जानकारी दिँदै प्रतिपरिवार १० हजार डलर राहत दिने घोषणा गर्नुभएको छ । यस्तै संरचनाको निरीक्षणका लागि ड्रोन र थप औषधि सहयोगका लागि बेइजिङलाई औपचारिक आग्रह गर्ने निर्णय पनि हङकङ सरकारले गरेको छ ।
यसैगरी चिनियाँ सेनाले पनि हङकङको सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
प्रहरीले निर्माण कम्पनीका ३ जनालाई पक्राउ गरेको छ । प्रभावितहरुलाई विभिन्न व्यवसायीले राहत तथा नगद सहयोग गरेका छन् । अलिबाबा समूहले २ करोड हङकङ डलर सहयोगको घोषणा गरेको छ भने ठूला प्रविधि कम्पनीहरु टेन्सेन्ट, सिओमी र बाइटडान्सले १-१ करोड सहयोग दिने जनाएका छन् । यस्तै एन्टा कम्पनीले १ करोड नगद सहयोग र २ करोड बराबरको सामग्री दिने जनाएको छ ।