काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच गाजामा १५ महिनादेखि भएको युद्ध अन्त्यको सहमति भएको छ । योसँगै बन्धक रिहाइसम्बन्धी अर्को सम्झौता पनि भएको छ । सम्झौता आइतबारदेखि पूर्ण रुपमा कार्यान्वयन हुने छ । पहिलो चरणको सम्झौता ६ सातासम्म लागू हुने छ भने यो कार्यान्वयन भए दोस्रो र तेस्रो चरणको वार्तासँगै नयाँ सम्झौता हुने छ । त्यसबेला हुने सम्झौताले गाजामा पूर्णयुद्धविराम हुनसक्छ । इजरायल र हमासबीच कसरी सुरु भएको थियो त युद्ध ? अनि कसरी भयो युद्धविराम ?
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले अप्रत्याशित रुपमा दक्षिण इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । जुन आक्रमणमा एकै दिन १२ सय मानिसको मृत्यु भएको थियो । त्यसमा १० जना नेपाली पनि परे । हमासले त्यही दिन २५० जनालाई बन्दी बनाए, जसमा नेपाली विद्यार्थी विपीन जोशी पनि परे ।
हमास समूहले आक्रमण गरेपछि इजरायलले गाजाका सम्पूर्ण नाका बन्द गरेर आक्रमण थालेको हो । अक्टोबर ८ मा हमासको समर्थनमा हिजबुल्लाहले पनि इजरायलमा आक्रमण थाल्यो । त्यसले युद्ध झन् भड्कियो ।
अक्टोबर १३ मा इजरायलले गाजा शहरमा रहेका नागरिकलाई दक्षिणतर्फ जान आदेश दियो । त्यसपछि पश्चिमा मुलुकको दबाबमा अक्टोबर २१ मा इजरायलले इजिप्ट हुँदै गाजा भित्रने रफाह नाका सञ्चालनमा ल्यायो ।
अक्टोबर २७ मा इजरायलले गाजामा स्थलगत आक्रमण नै सुरु गर्यो । नोभेम्बर १५ देखि इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा प्रवेश गर्यो । नोभेम्बर २१ मा दुवै पक्ष ७ दिने युद्धविराम गरे । तर, यो लामो समय टिक्न सकेन र डिसेम्बर १ देखि पुनः युद्ध सुरु भयो ।
डिसेम्बर ४ मा इजरायली सेनाले दक्षिण गाजाको खान युनिसमा भीषण स्थलगत आक्रमण गर्यो । गाजामा मानवीय संकट नै उत्पन्न भयो । खाद्यान्नका लागि लामबद्ध गाजावासीमाथि पनि इजरायलले आक्रमण गर्यो । दिनदिनै जसो सयौं नागरिकको मृत्यु भयो ।
हमासलाई सहयोग गरेको भन्दै सन् २०२४ को अप्रिल १ मा इजरायलले सिरिया र इरानमाथिसमेत धाबा बोल्यो । सिरियाको दमास्कसस्थित इरानको दूतावासमा गरिएको हवाई आक्रमणमा इरानका उच्च कमाण्डरसहित ७ जनाको मृत्यु भयो । जवाफमा इरानले इजरायललक्षित सयौं मिसाइल प्रहार गर्यो ।
आक्रमण तीव्र पार्दै इजरायलले गाजाको रफाहलाई पूर्णरुपमा नियन्त्रणमा लियो । त्यसबेलासम्म गाजाका चरम मानवीय संकट उत्पन्न भयो । भौतिक क्षति त कति हो कति यकीनसम्म छैन ।
जुलाई २७ मा इजरायल अधिनस्थ गोलान हाइट्समा लेवनानको हिजबुल्लाहले गरेको रकेट आक्रमणमा १२ बालबालिकाको मृत्युभयो । त्यसलगत्तै इजरायलले पुनः हिजबुल्लाहलक्षित आक्रमण तीव्र पार्यो ।
अगस्ट १ मा इजरायली सेनाको आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद डिएफको नै मृत्यु भयो । यसले हमासलाई झन् ठूलो चोट लाग्यो ।
उता इजरायलले अगस्ट २३ मा लेबनानमा हिजबुल्लाहका सदस्यहरुको वाकीटकी विस्फोट गरायो । जसकारण मध्यपूर्वमा झन् तनाव थपियो । इजरायलले लेबनानमाथि गरेको आक्रमणमा हिजुबल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु भयो । १६ अक्टोबरमा त इजलायली आक्रमणमा हमास प्रमुख याह्या सिनवरको नै मृत्यु भयो ।
मध्यपूर्वमा युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय समुदायबाट युद्धविरामको प्रयास भइनै रहेको थियो । अमेरिकाको पहलमा लामो कसरतपछि नोभेम्बर २७ मा इजरायल र हिजबुल्लाहबीच युद्धविराम भयो । तर इजरायल र हमासबीच भने युद्ध चलि नै रह्यो । नोभेभ्बर ५ मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डनल्ड ट्रम्प निर्वाचित भएपछि हमासले बन्धक रिहा नगरे मध्यपूर्वले थप विनाशको सामना गर्नुपर्ने चेतावनी दिनुभयो । त्यसपछि इजरायल र हमासलाई युद्धविरामको दबाब बढ्यो ।
अमेरिका, इजिप्ट र कतारको पहलमा दोहोमा दुवै पक्षलाई सँगै राखेर युद्धविराम गराउन लामो छलफल भयो । अन्ततः बुधबार युद्धविराम र बन्दी रिहाइको सम्झौता भयो । जुन सम्झौता हुँदासम्म गाजामा ४६ हजार मानिसको मृत्यु भइसकेको थियो । दुवैतर्फ गरी लाखौं मानिस घाइते भएका छन् । गाजा त सयौं वर्षसम्म उठ्न नसक्ने गरी थला परिसकेको छ । युद्धविरामपछि अहिले इजरायल र गाजामा मात्र होइन, विश्वभर नै खुसीयाली छाएको छ । तर यो युद्धविरामलाई पूर्णअवधिको बनाउन अझै पहलको खाँचो छ ।
सम्बन्धित समाचार :
१५ महिनापछि इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौता, गाजामा खुशियाली
इजरायल र हमासबीच गाजा युद्ध अन्त्य गर्ने सहमति