१५ महिनापछि इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौता, गाजामा खुशियाली

माघ ३, २०८१ |हरहरि उपाध्याय
१५ महिनापछि इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौता, गाजामा खुशियाली

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुवै पक्षबीच युद्धविराम सहमति भएको पुष्टि गर्नुभएको छ ।

युद्धविराम आइतबार अर्थात जनवरी १९ देखि कार्यान्वयनमा आउने जनाइएको छ । सम्झौतामा गाजामा पूर्ण युद्धविराम गर्ने, इजरायली सेना गाजाबाट फिर्ता हुने र हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा गर्ने उल्लेख भएको बीबीसीले जनाएको छ ।

२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि २५१ जनालाई बन्धक बनाएर लगेको थियो । हमासको नियन्त्रणमा अझै पनि ९४ जना बन्धक रहेको र तीमध्ये ६० जना मात्र जीवित रहेको विश्वास गरिएको इजरायली समाचारमाध्यमले जनाएका छन् । नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा छन् । हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीले भने ज्यान गुमाएका थिए ।

सम्झौता अनुसार युद्धविरामको पहिलो चरण ६ हप्तासम्म चल्नेछ । यो अवधिमा हमासले आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई रिहा गर्नेछ । यसरी रिहा हुने बन्धकमा बालबालिका, महिला सैनिक, गैरसैनिक र ५० वर्षमाथिका मानिस हुने अल जजीराले जनाएको छ । इजरायलले जवाफमा हमासले रिहा गर्ने प्रति महिला सैनिकको बदलामा ५० प्यालेस्टिनी कैदी र प्रत्येक गैरसैनिकको बदलामा ३० जना प्यालेस्टिनी बन्दी रिहा गर्नेछ । यसैगरी इजरायलले गाजाको दक्षिणी भागमा विस्थापित भएका निशस्त्र प्यालेटिनीलाई क्रमिक रूपमा उत्तरी भूभागमा फर्किन दिनेछ ।

पहिलो चरणका सहमति कार्यान्वयन भएको अवस्थामा दोस्रो चरणमा हमासले आफ्नो नियन्त्रणमा रहेका बाँकी सबै बन्धक रिहा गर्नेछ भने इजरायलले पनि आफ्नो जेलमा रहेका थप प्यालेस्टिनी कैदी रिहा गर्नेछ । यस्तै इजरायलले इजिप्ट र गाजाको सीमामा रहेको फिलाडेल्फी करिडर सहितका क्षेत्रबाट आफ्नो सेना पूर्ण रूपमा फिर्ता गर्ने प्रक्रिया सुरू गर्नेछ । दोस्रो चरणका शर्तहरू पनि पालन भएको अवस्थामा तेस्रो चरणमा इजरायलले आफ्नो नियन्त्रणमा रहेका मृतक बन्धकहरुको शव फिर्ता गर्नेछ । त्यसको बदलामा गाजामा अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा तीनदेखि पाँच वर्षको पुनःनिर्माण योजना कार्यान्वयन गरिनेछ ।

कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा गाजा युद्धविराम सम्बन्धी सहमति जुटेको हो । वार्तामा अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडन र भावी राष्ट्रपति डनल्ड ट्रम्प दुवैका दूत सहभागी रहेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सम्झौताका लागि दबाब दिन ट्रम्पका दूत स्टिभ विटकोफको विशेष भूमिका रहेको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्वबाट उत्पन्न चरम मानवीय पीडालाई सहज गर्नु पहिलो प्राथमिकता हुने उल्लेख गर्दै प्यालेस्टिनीलाई सहायता सामग्री वृद्धि गर्न राष्ट्रसंघ तयार रहेको बताउनुभएको छ । २०२३ को अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणका क्रममा हमासले करिब १२ सय जनाको ज्यान लिएको थियो भने त्यसको प्रतिकारमा इजरायलले गाजामा गरेको आक्रमणमा ४६ हजार ६ सयभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन् ।

विगत १५ महिनादेखि चलेको गाजा युद्धमा अहिलेसम्म २०४ जना पत्रकार पनि मारिएका छन् ।

- एजेन्सीहरूको सहयोगमा


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement