ट्रम्पले २०२४ को राष्ट्रपतीय चुनाव लड्न पाउलान् ?

चैत्र २२, २०७९ |मिमराज पाण्डेय
ट्रम्पले २०२४ को राष्ट्रपतीय चुनाव लड्न पाउलान् ?

काठमाडौं । मंगलबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आपराधिक अभियोगमा न्युयोर्कको फौजदारी अदालतको सामना गरे । अमेरिकी इतिहास मै यो पहिलो घटना थियो- जसमा अमेरिकाका एक पूर्वराष्ट्रपतिलाई आपराधिक अभियुक्त जस्तै गरी फौजदारी अदालतमा पेस गरियो ।

न्युयोर्क ग्रान्ड ज्युरीले नै औपचारिक रूपमा अभियोग लगाएपछि मंगलबार ट्रम्पले अदालतसामु आत्मसमर्पण गरे ।

ट्रम्पमाथि आपराधिक रेकर्डलाई गलत साबित गर्न झुटा व्यावसायिक विवरणहरू सम्बन्धी ३४ वटा जघन्य अपराधहरू गरेको अभियोग लगाइएको छ । उनीमाथि ठूलो परिमाणमा रकम निकासा  गरेको आरोप छ ।

यो त्यस्तो भुक्तानी हो जो कुनै अवैध वा आपराधिक कार्यको तथ्य गोप्य राख्न एवं त्यस बारेमा मौन रहनका लागि आकर्षक रकम प्रदान गरिन्छ । ट्रम्पले आफ्ना यस्तै व्यावहार लुकाउनको लागि राष्ट्रपतीय चुनाव २०१६ को केही दिन अगाडि मात्रै स्ट्रमी डेनियल नाम गरेकी एक महिलाको नाममा ठूलो रकम तिरेको आरोप छ ।

कुरा सन् २०१६ को राष्ट्रपतीय चुनावकै दौरानको हो । ट्रम्प त्यतिबेला अमेरिकी अश्लील चलचित्र अभिनेत्री स्टर्मी डेनियललाई एक सम्भावित ‘यौन काण्ड’ का बारेमा मुख नखोल्ने बनाउनका लागि गोप्य रूपमा १ लाख ३० हजार अमेरिकी डलर दिएको भन्ने आरोप लाग्दै आएको थियो । 

ट्रम्पमाथि बारम्बार कानुन उल्लंघन गरेको र आफ्ना आपराधिक रेकर्डलाई लुकाउने कोसिस गरेकका आरोप छन् । न्युयोर्क राज्यको सर्वोच्च अदालत, न्युयोर्क काउन्टीले एक दस्ताबेजमा भनेको छ– ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावका दौरान मतदाताबाट आफ्ना आपराधिक आचरण लुकाउनको लागि बारम्बार र धोखाधडीपूर्वक ‘न्यूयोर्क विजनेस रेकर्ड’ गलत साबित गरे ।

ट्रम्पले भने अदालतमा आफूलाई निर्दोष घोषणा गरेका छन् । यद्यपि यस विषयमा अनुसन्धान अघि बढिरहेको छ ।

अदालतमा के भयो ?

डोनाल्ड ट्रम्पले मंगलबार म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेपनि उनलाई हतकडी भने लगाइएन । ट्रम्पले अदालत जाँदै गर्दा आफूलाई पक्राउ गरिने कुरा निकै अवास्तविक लागेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । हुन पनि ट्रम्पलाई पक्राउ गरिएला र उनले फौजदारी अभियोगमा अदालतसमक्ष आत्मसमर्पण गर्लान् भन्ने अधिकांश अमेरिकीहरूले सोचेका थिएनन् ।

अदालतबाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाउँदै अदालत प्रवेश गरेका ट्रम्प केही चिन्तित तर शान्त र गम्भीर मुद्रामा देखिन्थे । उनको अदालत प्रवेशसँगै ट्रम्पविरुद्धको मुद्दा दर्ता प्रक्रिया अघि बढाइयो ।

अदालतसमक्ष ट्रम्पले आफूमाथि लगाइएको अभियोग झुटा भएको र आफू निर्दोष भएको दाबी गरे ।

मंगलबारै अदालतबाट फर्केपछि फ्लोरिडा पुगेर ट्रम्पले एक सम्बोधान गरे । ‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकामा यस्तो हुन सक्छ, यस्तो हुन सक्छ भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ । मैले गरेको एक मात्र अपराध केहो भने मैले हाम्रो राष्ट्रलाई नष्ट गर्न खोज्नेहरूविरुद्ध निडरताका लडेँ,’ ट्रम्पले सम्बोधनका क्रममा भने ।

के थियो ट्रम्पले दबाउन खोजेको घटना ?

कुरा सन् २०१६ को राष्ट्रपतीय चुनावकै दौरानको हो । ट्रम्प त्यतिबेला राष्ट्रपतिका उम्मेदवार थिए । उनले अमेरिकी अश्लील चलचित्र अभिनेत्री स्टर्मी डेनियललाई एक सम्भावित ‘यौन काण्ड’ का बारेमा मुख नखोल्ने बनाउनका लागि गोप्य रूपमा १ लाख ३० हजार अमेरिकी डलर दिएको भन्ने आरोप लाग्दै आएको थियो । जुन निर्वाचन कानुनको उल्लंघनका साथै गैरकानुनी पनि थियो ।

गत हप्ता भने औपचारिक रूपमै त्यो अभियोग अदालतमा दर्ता भयो । न्यूयोर्कको फौजदारी कानुनको धारा १७५.१० अन्तर्गत ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका मुद्दामा अभियोग लगाइएको छ ।

डेनियलको आरोप

डेनियलको भनाइ के छ भने सन् २००६ को सुरुवातमा ट्रम्पसँग उनको ‘लभ अफेयर’ थियो । तर ट्रम्प डेनियलको उक्त दाबीको ट्रम्पले सधैँ अस्वीकार गर्दै आएका छन् । सन् २००६ मा, जुनबेला ट्रम्प व्यावसायी थिए– त्यसबेला क्यालिफोर्निया र नेवादाको बीचमा पर्ने एक होटलमा उनीसँग आफ्नो भेट भएको डेनियलको दाबी छ ।

२०११ मा ट्रम्पले डिनरका लागि बोलाएकाले आफू ट्रम्पको हटल कोठामा भेट्न पुगेको डेनियल बताउँछिन् । त्यही होटलमा ट्रम्पसँग आफ्नो सम्बन्ध बनेको पनि उनले दाबी गरेकी छन् । तर ट्रम्प उनका सबै दाबीको अस्वीकार गर्छन् ।

डेनियल के भन्छिन् भनेट्रम्प त्यसबेला अमेरिकी टेलिभिजन शो 'द एपरेन्टिस' चलाउँथे। उनले त्यस टेलिभिजन सिरिजमा आफूलाई स्थान दिनेसमेत बताएको डेनियलको दाबी छ ।

३४ वटा गम्भीर अपराधमा केके छन् ?

ट्रम्पलाई विपक्षी बनाएर न्युयोर्क काउन्टी जिल्ला अधिवक्ता एल्विनले दायर गरेको मुद्दामा ३४ वटा आपराधिक अभियोग लगाइएको छ । यद्यपि ती सबै अभियोगहरू सम्भावित 'यौन काण्ड' र २००७ को भनिएको उक्त सम्बन्धका बारेमा डेनियललाई मुख नखोल्ने बनउन दिइएको रकमकै बारेमा छन् । उक्त अभियोगहरूमा– ट्रम्पले झुटा व्यवसायिक विवरणहरू पेस गरेको र त्यसका लागि ३४ वटा ‘फस्ट डिग्रीका’ अपराध अर्थात् जघन्य अपराध गरेको भनिएको छ । ती अभियोगहरू पोर्नस्टार डेनियल्सलाई ट्रम्पका वकिल माइकल कोहेनमार्फत् भुक्तान गरिएको १ लाख ३० हजार अमेरिकी डलरसँग जोडिएका छन् ।

त्यो घटनासँग सम्बन्धित कारोबारहरू फरक फरक मितिमा चेक, बिल र भौचरका माध्यामबाट भएका विस्तृत विवरणहरू पनि अभियोग पत्रमा समावेश छन् ।

अदालतको दस्तावेजमा ट्रम्पले दण्ड कानुन उल्लंघन गर्नुका साथै न्युयोर्क काउन्टी र त्यस आसपासमा ठगी गर्ने, अपराध गर्ने वा आपराधिक कार्यमा सहयोग गर्ने मनसायले व्यवसाय गरेकोसमेत उल्लेख छ । उनले आपराधिक कार्य लुकाउन धेरैपटक गलत दस्तावेज पेस गरेको र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा त्यसैका कारण ट्रम्प बारेका गलत सूचनाहरू मतदाताहरूबाट लुकाइएको अदालतले ठहर गरेको छ ।

अमेरिकामा कुनै अपराधलाई झुठा विवरण वा दस्तावेज देखाएर लुकाइनुलाई त्यहाँको कनुनले जघन्य अपराध मान्छ ।

त्यसैले ट्रम्पले दण्डकानुन उल्लंघन गरेको भन्दै उनलाई उक्त कानुनको १७५.१० अनुसार सजाय हुनुपर्ने मागगरिएको छ । यदि त्यसअनुसार हदैसम्मको सजाय भए ट्रम्पलाई कारावास पनि हुन सक्नेछ ।

ट्रम्पले ‘राष्ट्रपतीय चुनाव २०२४’ लड्न पाउलान् ?

ट्रम्प आगामी २०२४ मा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारीमा छन् । ट्रम्प कुनै पनि हालतमा आगामी राष्ट्रपतीय चुनाव लड्ने बताउँदै पनि आएका छन् ।

ट्रम्पको मुद्दाका लागि न्युयोर्क सिटीका सरकारी वकिल एल्विनले एक ग्रेन्ड जुरीको गठन गरेका थिए । उक्त जुरीले ट्रम्पविरुद्ध मुद्दा चलाउनका लागि अदालतसँग प्रयाप्त प्रमाणहरू भएको बताएको छ । ट्रम्पविरुद्धको मुद्दाबारे बोल्दै एल्भिनले भनेका छन्, ‘तपाई जो भएपनि फरक पर्दैन । न्युयोर्क राज्यमा यी जघन्य अपराध हुन् ।’

हुन त कुनै अपराधमा दोषी ठहरिएका व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य मान्ने अमेरिकी कानुनी प्रावधान नभएकाले उनी चुनाव भने लड्न पाउने छन्, जित्छन् या हार्छन् त्यो छुट्टै कुरा हो । तर यदि उनी गिरफ्तार भए भने राष्ट्रपति बन्ने उनको यात्र थप जटिल र चुनौतीपूर्ण हुने भने देखिन्छ ।

सम्बन्धित समाचार...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाइने

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा दर्ता, पोर्नस्टारलाई मौन बस्न पैसा र दबाब दिएको अभियोग

अदालतमा उपस्थित हुन न्यूयोर्क पुगे ट्रम्प, सुरक्षा व्यवस्था कडा

फौजदारी अभियोगमा डोनाल्ड ट्रम्पको बयान

राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोधमा उत्रन समर्थकलाई ट्रम्पको आह्‌वान, अभियोग प्रमाणित नहुने दाबी


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनमा २०७९ को असोजदेखि २०८१ सालको मंसिरसम्म उपसम्पादकको भूमिकामा कार्यरत थिए । सामाजिक सञ्जालहरूमा उनलाई @mrpandeya लेखेर खोज्न सकिन्छ ।


Enter Kantipur TV HD
Advertisement