
नेपालगञ्ज । आन्दोलनका क्रममा भत्काइएका नेपालगञ्जका सालिकहरू पुनःस्थापना गरिएसँगै इतिहास संरक्षणको विषय फेरि चर्चामा आएको छ।
कतिपयले सालिक ढल्नुलाई राजनीतिक परिवर्तनको प्रतीकका रूपमा हेर्ने गरे पनि नागरिक समाजका अगुवाहरू यस्ता सम्पदा जोगाउनु नै सभ्य समाजको दायित्व भएको बताउँछन्।
बाँकेको नेपालगञ्जमा २०५३ सालमा बीपी कोइरालाको सालिक स्थापना गरिएको थियो। त्यसपछि २०५६ मा पुष्पलाल श्रेष्ठ र २०७२ मा गणेशमान सिंहको सालिक स्थापना गरिएको थियो। यी सालिकहरू नेपाली राजनीतिक इतिहासमा विशिष्ट योगदान पुर्याएका नेताहरूको स्मरण र सम्मानका लागि स्थापना गरिएका थिए। तर, भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु विकका सालिक भत्काए ।
नेपालगञ्जमा आन्दोलनका क्रममा सालिक भत्काइएको यो पहिलो घटना भने होइन। यसअघि २०६२/६३ को जनआन्दोलनका बेला राजा वीरेन्द्र, राजा त्रिभुवन तथा तत्कालीन राजा ज्ञानेन्द्रको निर्माणाधीन सालिक पनि भत्काइएका थियो । नेपालगञ्ज उपमहानगरपालिकाले ती सबै सालिक पुनःनिर्माण गरी पुनःस्थापना गरेको छ।
सालिक कुनै व्यक्ति विशेषको समर्थन वा विरोधको विषय मात्र होइन, त्यो देशको एउटा कालखण्ड, इतिहास र सामाजिक यात्राको अभिलेख पनि हो। त्यसैले राजनीतिक परिवर्तन वा असहमतिका नाममा यस्ता सम्पदा नष्ट गर्नुभन्दा संरक्षण गर्नु नै उत्तम हुने विचार स्थानीय बुद्धिजीवीहरूले राखेका छन् ।
सालिकले नयाँ पुस्तालाई देशको इतिहास, विभिन्न कालखण्डका नेतृत्व र उनीहरूले पुर्याएको योगदानबारे बुझ्न मद्दत गर्छ। इतिहासलाई स्वीकार्नु र त्यसका प्रमाणहरू जोगाउनु लोकतान्त्रिक समाजको परिपक्वताको संकेतसमेत मानिन्छ।
विचार र राजनीति फरक हुन सक्छन्। तर, इतिहाससँग जोडिएका सार्वजनिक सम्पदाको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो। इतिहास मेटाएर होइन, इतिहासबाट सिकेर अघि बढ्न सकिने सन्देश यस्ता सम्पदाले दिने विश्वास गरिएको छ।