अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा दर्ता, पोर्नस्टारलाई मौन बस्न पैसा र दबाब दिएको अभियोग

चैत्र १७, २०७९
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा दर्ता, पोर्नस्टारलाई मौन बस्न पैसा र दबाब दिएको अभियोग

वासिंटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।

हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि सन् २०१६ मा राष्ट्रपतिको निर्वाचनताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन एक लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । उनले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुनअनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।

ट्रम्प आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ । उनले आफूविरुद्ध लगाइएको आरोप गलत र राजनीति प्रेरित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दु:ख दिन खोजेको बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पविरुद्ध व्यापारिक धोकाधडीका करिब दुई दर्जन अभियोग लगाइएका छन् । तर, यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । पूर्वराष्ट्रपतिको समर्थनमा रहेका रिपब्लिकन नेताहरुले यसलाई राजनीतिक घटनाका रुपमा प्रतिरक्षा गरिरहेका छन् भने डेमेक्र्याटहरुले भने कोही पनि कानुनभन्दा माथि नभएको प्रतिक्रिया दिएका छन् ।


Enter Kantipur TV HD
Advertisement