राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोधमा उत्रन समर्थकलाई ट्रम्पको आह्‌वान, अभियोग प्रमाणित नहुने दाबी

चैत्र २२, २०७९
राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोधमा उत्रन समर्थकलाई ट्रम्पको आह्‌वान, अभियोग प्रमाणित नहुने दाबी

वासिंटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि राजनीतिक प्रतिशोधपूर्ण तरिकाले आरोप लगाइएको भन्दै विरोधमा उत्रन समर्थकलाई आह्‌वान गरेका छन् ।

न्युयोर्कको म्यानहाटन अदालतमा बयान दिएर फर्किएपछि फ्लोरिडास्थित निवास क्षेत्रमा समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफूविरुद्धको ३४ बुँदे अभियोग प्रमाणित नहुने जिकिर गरे ।

उनले अमेरिकी अर्थतन्त्र दुर्घटनामा गएको र रुस र चीनबीच निकटता बढ्दा पनि जो बाइडन सरकार मूकदर्शक बनेको आरोप लगाए ।

ट्रम्पविरुद्ध झुटो व्यापारिक अभिलेख खडा गरेर पहिलो श्रेणीको अपराध गरेको अभियोग दर्ता भएको हो । ३४ बुँदाको अभियोजनपत्रमा ट्रम्प अर्गनाइजेसनले विभिन्न समयमा जारी गरेका बिल भौचर र चेकलाई प्रमाणका रुपमा प्रस्तुत गरिएको छ ।

अदालतको इजलासमा ट्रम्पले आफूले कुनै अपराध नगरेको र लगाइएका सम्पूर्ण आरोप गलत भएको दाबी गरेका थिए । उनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले हिरासतमा लिएको थियो । ट्रम्पले ठगी गर्ने र अन्य अपराधलाई सहयोग पुर्याउने मनसायका साथ आफ्नो व्यापारिक रेकर्ड फर्जी बनाएको आरोप छ ।

अमेरिकामा यस्तो कार्यलाई गुन्डागर्दी जस्तै ‘फस्ट डिग्री क्राइम’ अर्थात पहिलो श्रेणीको गम्भीर अपराध मानिन्छ । ट्रम्प एकजना अश्लील चलचित्रकी नायिकासँगको प्रकरणमा फसेका छन् ।


Enter Kantipur TV HD
Advertisement