फौजदारी अभियोगमा डोनाल्ड ट्रम्पको बयान

चैत्र २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
फौजदारी अभियोगमा डोनाल्ड ट्रम्पको बयान

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको फौजदारी मुद्दामा अदालतमा हाजिर भएर बयान दिएका छन् । ३४ बुँदे अभियोगको प्रतिवादमा  बयान दिँदै उनले आफू दोषी नभएको जिकिर गरेका छन्।

सन् २०१६ मा अश्लिल चलचित्रकी नायिकालाई रकम दिएको विषयमा भैरहेको अनुसन्धानमा बयान दिन ट्रम्प अदालतमा हाजिर भएका हुन् । यसका साथै सन् २०१६ को निर्वाचनलाई प्रभावित बनाउन ठूलो धनराशी खर्च गरेको अभियोग पनि ट्रम्पलाई लागेको छ ।

गलत सूचना दबाउन त्यस्तो गैरकानूनी योजना चालेको अभियोजनकर्ताको दाबी छ । बयान दिएर ट्रम्प फ्लोरिडा फर्किएका छन् । त्यहाँ उनले गल्फ क्लबमा भाषण दिँदैछन् ।

अटलान्टा र जोर्जियामा सरकारी अधिकारीहरुसँग अतिरिक्त मत संकलन गर्न भनेको टेलिफोन वार्ताको विषयमा पनि ट्रम्पमाथि मुद्दा लागेको छ ।

सन् २०२४ को राष्ट्रपति चुनावसमेत लड्न लागेका ट्रम्पले पछिल्लो भाषणमा आफूलाई लागेको आरोपको खण्डन गरेका छन् । आफूलाई लगाइएको आरोपमा राजनीतिक अभिप्राय रहेको उनको टिप्पणी छ ।

अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकी पूर्वराष्ट्रपतिलाई अदालतमा उभ्याइएका डोनाल्ड ट्रम्पले आफूलाई लागेको आरोप र विभिन्न अनुसन्धान र दुईवटा अघिल्लो महाअभियोगमा आपत्ति जनाएका छन् ।

अमेरिकामा आफू विरुद्धको अफवाहले सन् २०२० को चुनावमा हार बेहोरेको उनले बताए । ट्रम्पले अमेरिकामा अव्यवस्था रहेको, अर्थतन्त्र दुर्घटनामा गएको, मुद्रास्फीति अनियन्त्रित भएको र रुस–चीनसँग घनिष्ठ भएको टिप्पणी गरेका छन् । उनले आफूलाई लागेको अभियोगमा राजनीतिक अभिप्राय रहेकाले आफ्ना समर्थकलाई विरोध गर्न अपिल गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement