
काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकमा राजदूत नियुक्तिको लागि सिफारिस गरेको हो।
सरकारले निश्चलनाथ पाण्डेलाई भारत, कल्याणराज शर्मालाई चीन, चिरनजंग थापालाई अमेरिका र पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई बेलायतका लागि राजदूतमा प्रस्ताव गरेको हो ।
यसैगरी जिग्यान कुमार थापालाई जापान, सुरेशकुमार कर्णलाई इजरायल, प्राप्ति शेरचनलाई स्पेन, शारू जोशीलाई जर्मनीका लागि राजदूत प्रस्ताव गरिएको छ । यस्तै पद्माक्षी राणालाई ओमान, चूडामणि खरेललाई मलेसिया, सङ्गम श्रेष्ठलाई दक्षिण कोरिया, मंचल झालाई श्रीलंका र गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि राजदूतमा प्रस्ताव गरिएको छ ।
सरकारद्वारा सिफारिस गरिएका प्रस्तावित राजदूतहरुलाई संसदीय सुनुवाइको लागि पठाइने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने व्यवस्था छ ।
सरकारले सिफारिस गरेका राजदूतहरु विषयविज्ञदेखि पूर्वसेनापतिसम्म छन् । १३ जना सिफारिस हुँदा चार जना महिला छन् भने एक जना दलित समुदायका छन् ।

प्रस्तावित राजदूतहरुको पृष्ठभूमि कस्ताे ?
भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे नेपालका वैदेशिक नीतिका प्राज्ञिक व्यक्ति हुन्। सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक पाण्डे यसअघि परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक थिए । सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ र उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत रहेका पाण्डेले राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरेका छन्।
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा नेपाल-चीन मामला विज्ञ हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा पनि क्रियाशील छन् । नेपाल-चीन आर्थिक कूटनीति, व्यापार र 'बेल्ट एन्ड रोड' सहकार्यका विश्लेषक शर्मालाई सरकारले नेपाल भूषण पदक पनि दिएको थियो।
अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा चाहिँ राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुन् । उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशहरूमा जोखिम व्यवस्थापन र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्। उनले रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई परामर्श दिनुका साथै नेपाली सेनाको पहिलो नागरिक-सैन्य सम्बन्ध पाठ्यक्रम तयार पारेका थिए ।
बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबरा पूर्व प्रधानसेनापति हुन् । सैन्य रणनीतिकार जवराले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए । रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका उनी कन्जर्भेसन एलायन्स नेपालको अध्यक्ष छन् ।
जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापा नेपाल-जापान सम्बन्धका विज्ञ हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर गरेका उनले अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका पहलहरूमा जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन्।
इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ र आर्थिक नीति क्षेत्रका जानकार हुन् । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को दुई कार्यकाल अध्यक्ष बनेका उनी नेपालको आईटी काउन्सिल र सूचना प्रविधि उच्चस्तरीय आयोगको पदझेन सदस्य थिए ।
स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन नेपाली अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी नेतृत्वकर्ता हुन् । विश्व बैंक समूहअन्तर्गत लैंगिक समाधान र प्रभावका लागि सञ्चालन अधिकृतका रूपमा कार्यरत शेरचनले दिगो अन्तर्राष्ट्रिय विकासमा एमबीए गरेकी छन्।
जर्मनीका लागि प्रस्तावित राजदूत शरू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी नीति विज्ञ हुन्। महिला तथा विकास विषयमा स्नातकोत्तर उनी पुस्तककी लेखिका पनि हुन् ।
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणा नेपाल, एसिया र युरोपभर दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रकी विकास तथा उद्यमी नेता हुन्। उनले खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गरेकी छन्।
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ हुन्। उनले अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी नेपाल योग खेलकुद संघको महासचिव पनि हुन् ।
दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सङ्गम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता र जल-सुरक्षा कूटनीतिका वैश्विक नीति विज्ञ हुन्। श्रेष्ठले एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका छन्।
श्रीलंकाका लागि प्रस्तावित राजदूत मंचला झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन् । उनी सत्य निरूपण तथा मेलमिलाप आयोगको पूर्व आयुक्त झाले हिन्दी साहित्यमा विद्यावारिधि गरेकी छन् ।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार समाजशास्त्री हुन् । समाजशास्त्रमा विद्यावारिधिका शोधार्थी उनलाई अन्तर्राष्ट्रिय विकास, नीतिगत सुशासनका क्षेत्रमा अनुभव छ।