बंगुरको बोसो घटाउने उपाय खोज्दै अनुसन्धानकर्ता

आश्विन ३, २०८३ |चन्द्र कार्की
बंगुरको बोसो घटाउने उपाय खोज्दै अनुसन्धानकर्ता

तेह्रथुम । बंगुरपालक किसानका लागि अहिले उत्पादन मात्र होइन, बजारले खोजेको गुणस्तरीय मासु उत्पादन गर्नु पनि चुनौतीपूर्ण बनेको छ। 

उपभोक्ताको रोजाइ कम बोसो भएको मासुतर्फ बढेपछि बोसो बढी भएका बंगुर बिक्री गर्न समस्या हुन थालेको छ। यही समस्याको समाधान खोज्न धनकुटाको पाख्रीबासमा रहेको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले कोशी प्रदेशका विभिन्न जिल्लामा अनुसन्धान गरीरहेको छ। 

अनुसन्धानकर्ताहरू फार्ममै पुगेर बंगुरको तौल लिने, आहाराको नमुना संकलन गर्ने र पालन व्यवस्थापनको अवस्था अध्ययन गरिरहेका छन्। राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम पाख्रीबास धनकुटाले विशेषगरी स्थानीय बजारमा लोकप्रिय पाख्रीबास कालो जातको बंगुरका साथै ड्युरोक, ल्यान्डरेस, हेम्पसायर र योर्कसायर जातका बंगुरमा बोसोको मात्रा कम गरी रातो मासुको उत्पादन बढाउने विषयमा अनुसन्धान बढाएको छ । 

यी जातका बंगुरमा बोसोको मात्रा तुलनात्मक रूपमा बढी हुने गरेकाले उपभोक्ताको रुचि र बजारको मागअनुसार बिक्री गर्न किसानलाई कठिनाइ भइरहेको छ । राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले अहिले तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाका किसानका फार्ममै पुगेर बंगुरको तौल, उमेर, दानाको नमुना, जात तथा पालन व्यवस्थापन, मासुको गुणस्तर लगायतको विवरण संकलन गरिरहेको छ । 

बंगुरलाई खुवाउने आहारामा रहेको पोषक तत्व र त्यसले गुणस्तरीय मासु उत्पादनमा पार्ने प्रभाव समेत अनुसन्धान भइरहेको छ । विशेषगरी पाख्रीबास कालो बंगुरमा बोसोको मात्रा घटाएर मासुको हिस्सा बढाउन सकिने सम्भावना खोजिँदैछ ।

अनुसन्धानकर्ताका अनुसार बंगुरको शरीरमा बोसोको मात्रा जात, आनुवंशिक गुण, उमेर, आहारा र व्यवस्थापन अनुसार कमबेसी हुन्छ । त्यसैले कुन अवस्थामा कम बोसो र बढी मासु उत्पादन हुन्छ भन्ने तथ्य पत्ता लगाउन फार्ममै अध्ययन गरिएको हो ।

बजारमा पछिल्लो समय कम बोसो भएको मासुको माग बढ्दै गएको किसान तथा व्यवसायीको अनुवभ छ । तर, बंगुरमा बोसो बढी भएपछि बजार मूल्यमा समेत असर पर्ने गरेको छ । त्यसले बंगुरको बिक्रीमा समेत समस्या हुने गरेको छ ।

बढी मासु दिने गुण भएका बंगुरको पहिचान गरी आगामी पुस्तामा त्यस्ता गुण विकास गर्न सकिने सम्भावनाको समेत खोजी भइरहेको छ। अनुसन्धानकर्ताहरूले बंगुरको तौल वृद्धि, शरीरमा बोसोको मात्रा, मासुको गुणस्तर र आहाराको प्रभाव लगायतका विषयलाई अध्ययनको आधार बनाएका छन्। 

यसबाट कुन जात वा कुन व्यवस्थापन प्रणालीमा कम बोसो र बढी मासु उत्पादन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउने प्रयास भइरहेको छ ।


Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।