
न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको फौजदारी मुद्दामा अदालतमा उपस्थित हुन न्यूयोर्क पुगेका छन् । म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उपस्थित हुन ट्रम्प आफ्नो निजी जेट विमान चढेर फ्लोरिडाबाट न्यूयोर्क पुगेका हुन् ।
ट्रम्पले मंगलबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उपस्थित भए लगत्तै पहिलो सुनुवाइका लागि म्यानहटन फौजदारी अदालतमा न्यायाधीश समक्ष प्रस्तुत गरिने रोयटर्सले जनाएको छ । न्यायाधीश समक्ष प्रस्तुत गरिनु अघि अदालतमा ट्रम्पको औँठाछाप लिइनुका साथै फोटो खिचिने छ। ट्रम्पलाई हथकडी भने लगाइने छैन ।
उनका समर्थकले गर्न सक्ने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्पविरुद्धको अभियोगपत्र सार्वजनिक नगरिए पनि उनीमाथि व्यवसायिक धोखाधडीसँग सम्बन्धित ३० भन्दा बढी अभियोग लगाइएको स्रोतलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ । आफूसँगको अनुचित सम्बन्ध सार्वजनिक नगर्न पूर्वपोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई कानुन व्यवसायीमार्फत १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग छ । रकम दिनु गैरकानुनी नभए पनि अर्कै शीर्षक देखाएर दिनु गैरकानुनी भएको जनाइएको छ।
आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुन: प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका ७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन् । ट्रम्पले आफूविरुद्धका आरोप असत्य भएको भन्दै यसलाई राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भनेका छन् ।