६ सय शय्याको गेटा मेडिकल कलेजलाई १ सयमा घटाउने निर्णयविरुद्ध सुदूरपश्चिमवासी आन्दोलित

जेष्ठ २०, २०८० |टेकराज जोशी
६ सय शय्याको गेटा मेडिकल कलेजलाई १ सयमा घटाउने निर्णयविरुद्ध सुदूरपश्चिमवासी आन्दोलित

कैलाली । कैलालीको गेटामा अहिलेसम्म साढे ५ अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल ६ सय शय्याको अस्पताल सञ्चालन गर्न सकिन्छ । तर सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको कुरालाई हटाउँदै कैलालीको गेटामा एक सय शय्याको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गरेपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलित भएका छन् ।

गत माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । लगत्तै स्थलगत भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि छिट्टै विश्व विद्यालय स्थापना गर्ने आश्वासन दिएका थिए ।

‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै क्याबिनेटबाट सैद्धान्तिक निर्णय भएको छ । अब व्यवहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर पनि तीव्र गतिमा यो जान्छ र विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडि बढिसकेको छ,’ दाहालले भनेका थिए ।

राष्ट्रपतिले जेठ ५ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पनि सोही कुरा उल्लेख गरिएको छ । तर नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रमविपरीत बजेट भाषणमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर एक सय शय्याको अस्पताल सञ्चालन गरिने उल्लेख भएपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलित भएका हुन् ।

दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय बनाउने निर्णयलाई आफूहरुले स्वागत गरेको र यो नीति तथा कार्यक्रममा पनि आयो तर ६ सय बेडको लाई सय बेड बनाउने निर्णयमा आफूहरुको आपत्ति रहेको आन्दोलनरत लोकराज पाण्डेको भनाइ छ ।

‘यो त समग्र राष्ट्रिय रुपबाट नीतिगत ढंगले नै सरकारलाई प्रभावित पारेर मेडिकल विश्वविद्यालय खोल्न नदिने र केही व्यक्ति आफ्नो मनसुवा पूरा गर्नका लागि लागिरहेका छन्,’ स्थानीय लक्षीराम आचार्यको आरोप छ ।

सुदूरपश्चिमका बासिन्दाको लामो माग र आन्दोलनपछि कैलालीको गेटामा आर्थिक वर्ष ०७३/७४ मा मेडिकल कलेजका लागि भौतिक संरचना निर्माण गर्न थालिएको थियो । अहिलेसम्म साढे ५ अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । अन्य भौतिक निर्माण कार्य पनि लगभग अन्तिम चरणमा छ । तर सरकारले यसको सञ्चालन मोडालिटी छिनछिनमै फेरबदल गर्न गरेकामा जनप्रतिनिधिले पनि आपत्ति जनाएका छन् ।

‘स्वास्थ्य सेवामा सर्वांगिण परिवर्तनको अनुभूति गर्ने परिस्थिति बनेको थियो त्यसमा गहिरो धक्का लागेको छ,’ सुदूरपश्चिम प्रदेशका माओवादी संसदीय दलका नेता खगराज भट्ट भन्छन्, ‘बजेटमा अप्रत्यासित रुपमा यो कुरा आएको अवस्था छ । यसमा सरकारको आधिकारिक धारणा आएपछि हाम्रो धारणा सार्वजनिक गर्छौं ।’

यस्तै नेकपा एमालेका प्रदेश सांसद धर्मराज पाठकले मेडिकल कलेज निर्माणका लागि अहिलेको नीतिगत प्रबन्धअनुसार कमसे कम ३०० शय्याको अस्पताल त चाहिने प्रतिक्रिया दिए ।

सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कमजोर छ । सामान्य उपचारका लागि पनि यहाँका नागरिक काठमाडौं र सीमावर्ती भारतीय अस्पताल पुग्नुपर्छ । तर, निर्माण सकिँदा पनि सरकारले मेडिकल कलेज सञ्चालनमा देखाएको यस्तो गैरजिम्मेवारी हर्कत र लापरबाहीले मेडिकल माफियाको इसारामा कतै यसलाई सञ्चालन गर्न नदिने रणनीति त होइन भन्ने आशंका स्थानीयको छ ।

थप समाचार... 

गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी
सञ्चालनमै नआई गौचरनमा परिणत भयो गेटा मेडिकल कलेज
कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनको मिति घोषणा भएन
‘सरकारले सस्तो लोकप्रियताका लागि गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भन्यो’


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।