‘सरकारले सस्तो लोकप्रियताका लागि गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भन्यो’

फाल्गुन १, २०७९ |नारायण किलम्बू
‘सरकारले सस्तो लोकप्रियताका लागि गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भन्यो’

काठमाडौं । सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा बहसहरु सुरु भएका छन् । सरकारले सस्तो लोकप्रियताका कारण यस्तो निर्णय गरेको चिकित्सक एवं सत्याग्राही डा. गोविन्द केसीको धारणा छ ।

गेटा मेडिकल कलेजका नाममा अर्बौं लगानी भइसकेको अवस्थामा यसलाई शीघ्रतम सञ्चालनमा ल्याउन आफूहरुले बारम्बार सरकारको ध्यानाकर्षण गराए पनि सरकारले हचुवाका भरमा विश्वविद्यालय बनाउने निर्णय गरेको केसीको भनाइ छ । ‘उहाँले चिप पपुलारिटीका लागि यस्तो निर्णय गर्नुभएको हो,’ डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै भने, ‘उहाँलाई यसको यथार्थ केही पनि थाहा छैन । न उहाँलाई मेडिकल कलेजका बारेमा थाहा छ न त जनताको आकांक्षाका बारेमा थाहा छ । उहाँलाई केही पनि थाहा छैन । यो निर्णय उहाँको निहित स्वार्थका लागि गरेको हो जस्तो लाग्छ मलाई ।’

डा. केसीले कान्तिपुर टीभीसँग कुरा गर्दै यो विनाअवधारणा जनताको भ्रम छर्न ल्याइएको दाबी गरे । सरकारले मेडिकल विश्वविद्यालयका लागि अवधारणा तथा गृहकार्य केही पनि नगरेको भन्दै डा. केसीले प्रधानमन्त्रीको आलोचनासमेत गरे ।

‘मेडिकल विश्वविद्यालय भनेको ठूलो संरचना हो । यसका लागि राज्यले ठूलो लगानी गर्नुपर्ने हुन्छ । विश्वविद्यालयका लागि न अवधारणा बनाइएको छ न कुनै गृहकार्य गरिएको छ । न कुनै विधान बनाइएको छ,’ उनले भने, ‘चिकित्सा शिक्षा आयोगलाई एकपटक सोधिएको पनि छैन । अब त चिकित्सा शिक्षा आयोगको सहयोगविना केही पनि हुन सक्दैन ।’

डा. केसीले गेटा मेडिकल विश्वविद्यालय बनाउने सरकारको निर्णयप्रति असहमति जनाउँदै आजै विज्ञप्तसमेत जारी गर्दै असहमति जनाएका छन् । उनले त्यहाँको वास्तविक कुरो आफूलाई थाहा भएको भन्दै बरु मेडिकल कलेजलाई शीघ्रतम् सञ्चालनमा ल्याउन सुझावसमेत दिए ।

‘हालै एकाएक गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने भनेर समाचारहरु आइरहेका छन् । यसै पनि विश्वविद्यालय निर्माण कसैको मनगढन्ते निर्णयका भरमा सफल हुने कुरा हैन,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हचुवाका भरमा त्यस्ता निर्णय गर्दै जाने र सरकारैपिच्छे नीति फेर्दै जाने हो भने गेटामा मेडिकल कलेज सञ्चालनको काम अनावश्यक रुपमा ढिला हुने निश्चित छ ।’

प्रक्रियामा छलछाम गरी तथा स्रोतको जोहो नै नगरी विश्वविद्यालयजस्तो ठूलो संरचना बनाउने निर्णय गर्नाले कहिले र कुन गुणस्तरको शिक्षा सम्भव छ भन्दै विज्ञप्तिमार्फत उनले प्रश्न उठाएका छन् । ‘यस्ता निर्णयले निहित स्वार्थ भएका केही व्यक्ति वा संस्थाको लाभ हुन सक्ला तर तत्काल रेफरल अस्पतालसहितको विशेषज्ञ सेवा र लगत्तै एमबीबीएसको पठनपाठनको पर्खाइमा रहेका सुदूरपश्चिमका नागरिकहरुको आशामाथि तुषारापात हुने देखिन्छ ।’

उनले विज्ञप्तिमार्फत बरु सबै प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज निर्माणको कामलाई अघि बढाउन सरकारसँग आग्रह पनि गरे । ‘यस्तो हचुवा निर्णय तत्काल रोकी गेटामा मेडिकल कलेज सञ्चालनका लागि यस अघि चलिरहेको प्रक्रियालाई गति दिन तथा सबै प्रदेशमा कम्तीमा एकसहित हामीसित सहमति भए बमोजिम मेडिकल कलेज निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछौं,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भौतिक संरचनाले भरिएको गेटा मेडिकल कलेजलाई यत्तिकै अलपत्र पार्नुभन्दा पनि बरु त्यसलाई सञ्चालन गर्नुपर्ने आफूले पटक-पटक सरकारलाई सुझाव दिएको कान्तिपुरसँगको कुराकानीमा केसी भन्छन् । उनले हचुवाका भरमा काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाएका छन् ।

‘प्रचण्डजीले पहिले पनि धोका दिएका हुन् । उनले पहिले पनि बारबार नियम मिचेर सम्बन्धन दिने कोसिस गरेका थिए । प्रधानमन्त्रीबाट हट्नुभन्दा उनले २/३ पटक कोसिस गरेका थिए । सकेनन् । अहिले पनि उनी चेतेका छैनन् । भ्रष्टाचार, माफिया, दलालकै पक्षमा अहिले पनि हिँडिरहेका छन्,’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिँदै डा. केसीले कान्तिपुरसँग भने । उनले प्रधानमन्त्रीलाई गैरजिम्मेवार र निहित स्वार्स्थका लागि यस्तो निर्णय गरेको आरोप पनि लगाए । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement