आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा नागरिकको सहज पहुँच स्थापित गर्नुपर्छ : राष्ट्रपति

वैशाख २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा नागरिकको सहज पहुँच स्थापित गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिनुभएको छ । शुक्रबार काठमाडौंमा कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुररूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य, मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था वृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । 

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “यी मूल्य, मान्यताहरुप्रति प्रतिबद्ध रहँदै सोको संरक्षण र प्रवर्द्धन गर्ने एवं न्यायपूर्ण समाज निर्माण गर्ने सन्दर्भमा न्याय र कानुन जगतको महत्त्वपूर्ण दायित्व रहने हुँदा आजको यस दिनले न्याय र कानुनको क्षेत्रमा आबद्ध सबैको मन र मस्तिष्कमा उत्तरदायित्वको बोध निरन्तर गराइरहनेछ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.