सञ्चालनमै नआई गौचरनमा परिणत भयो गेटा मेडिकल कलेज

माघ १७, २०७९ |टेकराज जोशी
सञ्चालनमै नआई गौचरनमा परिणत भयो गेटा मेडिकल कलेज

धनगढी । सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कमजोर छ । सामान्य उपचारका लागि पनि यहाँका नागरिक सीमावर्ती भारतीय अस्पताल पुग्नुपर्छ । विगतमा डा. गोविन्द केसी सुदूरपश्चिम प्रदेशमै पुगेर मेडिकल कलेज सञ्चालनको माग गर्दै अनसन पनि बसे । तर, ८ अर्ब ३३ करोडको लागतमा बनाएको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आएको छैन ।

अत्तरिया-धनगढी जोड्ने ६ लेन सडक । छेउमै रंग रोगन गरिएका २९ वटा ठूला ठूला महल । लामो समयदेखि प्रतिक्षारत स्थानीयको मनमा प्रश्न आउँछ, अब त यहाँ मेडिकल कलेज सुरु होला कि ? कैलालीको गेटामा आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ३३ करोडको लागतमा मेडिकल कलेज निर्माण गर्न थालिएको थियो । अहिलेसम्म अस्पताल, कलेज, प्रशासनिक र होस्टेल भवनको काम सकिएको छ । अन्य भौतिक निर्माण कार्य पनि लगभग अन्तिम चरणमा छ । तर सञ्चालनको कुनै सुरसार नहुँदा यो क्षेत्र गौचरन बनेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले धनगढीमै आएर मेडिकल कलेज सञ्चालनको माग गर्दै अनसन बसे । स्थानीय पनि पटकपटक आन्दोलित भए । डाक्टर केसी र स्थानीको दबावपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला तत्काल मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन पनि दिए । तर गत असारमा तीनजना चिकित्सकसहित निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने बाहेक कुनै काम अघि बढेन । नियुक्त गरिएका कर्मचारी पनि तलव खाएर दिन काटिरहेका छन् ।

निर्वाचनका बेला जनजीविकासँग जोडिएको मुद्दालाई चुनावी एजेन्डा बनाउने तर सत्तामा गइसकेपछि चुपचाप बस्ने नेताहरुको प्रवृत्तिले गर्दा पनि गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको देखिन्छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।