आवासीय चिकित्सक र सरकारबीच भएकाे सहमतिमा आज हस्ताक्षर हुने

आजदेखि नै आवासीय चिकित्सकहरू काममा फर्कने
वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
आवासीय चिकित्सक र सरकारबीच भएकाे सहमतिमा आज हस्ताक्षर हुने

काठमाडौं । सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता पाउनुपर्ने लगायत माग राखेर एक महिनादेखि आन्दोलित निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग काठमाडौंको नयाँबानेश्वरस्थित एक होटलमा आधा घन्टा छलफल गरेपछि आवासीय चिकित्सकले आन्दोलन स्थगित गरेका हुन् ।

मन्त्री पौडेलले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चिकित्सकहरूले आन्दोलन स्थगित गरेका हुन् । मन्त्री पौडेलले अब चिकित्सकहरू आन्दोलनमा फर्कनुपर्ने अवस्था आउन नदिने बताउनुभयो ।

मन्त्री पौडेलले निर्वाह भत्ता आठौँ तह बराबरको उपलब्ध गराउने, चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्णबैठकले गरेका निर्णय कार्यान्वयन गर्न कार्यदल गठन गर्नेलगायतका प्रतिबद्धता जनाएको चिकित्सकहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन् ।

आन्दोलन स्थगन भएसँगै आजदेखि नै आवासीय चिकित्सकहरू काममा फर्किने भएका छन । आवासीय चिकित्सकहरूसँग भएको सहमतिमा हस्ताक्षर पनि आज हुने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.