काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानुन कार्यान्वयनको पक्षलाई बलियो बनाउने गरी देशभर बहस हुनुपर्ने बताउनुभएको छ ।शुक्रबार कानुन दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले हरेक क्षेत्रसँग सम्बन्धित कानुनको चाङ रहेको तर कार्यान्वयनको पक्ष कमजोर रहेको बताउनुभयो ।
उहाँले कानुनको सही कार्यान्वयन र परिपालना नहुँदा त्यसको अर्थ नरहने बताउनुभयो । निर्माण भएका कानुन व्यावहारिक र समय सापेक्ष छ कि छैन भनेर समीक्षा पनि गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “नेपालमा कानुनको कमी छैन, कानुनको चाङ छ । तर ती कानुनहरूका कार्यान्वयन हेर्ने हो भने हामी एकदमै कमजोर छौं । त्यो दुःखको कुरा हो ।”
उहाँले स्थानीय स्तरमा न्याय सम्पादन गर्नका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा न्यायिक मेलमेलाप केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । उहाँले वडामा स्थापना भएका महिला सञ्जाल र मेलमिलाप केन्द्रका कारण मेलमिलाप गर्न आउनेको संख्या बढेको बताउनुभयो । काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा निःशुल्क रूपमा मेलमिलाप सेवा दिइरहेको उहाँको भनाइ छ ।
“अहिले निःशुल्क रूपमा मेलमिलापको सेवा दिन थालेपछि मेलमिलाप हुने संख्या पनि वृद्धि भइरहेको छ । अहिले हाम्रो सक्सेस रेट डबल डिजिटमा पुग्दैछ”, उहाँले भन्नुभयो ।