खेलमा भारत-पाक द्वन्द्वको असर : आईपीएल स्थगित, पीएसएल यूएईमा

वैशाख २६, २०८२ |खेल ब्युरो
खेलमा भारत-पाक द्वन्द्वको असर : आईपीएल स्थगित, पीएसएल यूएईमा

काठमाडौं । भारत र पाकिस्तानबीच जारी द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग आईपीएल स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले हालको अवस्थालाई मध्यनजर राख्दै तत्कालै लागू हुने गरी प्रतियोगिता स्थगन गर्ने निर्णय गरेको छ ।

यसअघि गए राति पञ्जाब किंङ्ग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा जारी खेल पनि सुरक्षा चुनौतीलाई मध्यनजर गरी रद्द गरिएको थियो । पञ्जाब र दिल्लीबीचको खेल पहिलो इनिङकै क्रममा रद्द गरिएको थियो । सुरक्षा संवेदनशीलताका कारण धर्मशालासहित नजिकैका विमानस्थलहरू बन्द गरिएपछि दुवै टोलीका खेलाडी तथा सपोर्ट स्टाफलाई शुक्रबार बिहान विशेष रेलमार्फत दिल्ली ल्याइएको थियो । उक्त रेल आईपीएल व्यवस्थापनद्वारा विशेष रूपमा व्यवस्थापन गरिएको थियो ।

१८ औं संस्करणको आईपीएल २०२५ अहिलेसम्ममा ५८ खेलहरू सम्पन्न भइसकेका छन् । जसमा धर्मशालाको अधुरो खेल पनि समावेश गरिएको छ । अब प्रतियोगितामा लिग चरणका १२ खेल बाँकी रहेका छन् भने प्लेअफमा ४ खेल बाँकी छन् । 

बीसीसीआईको निर्णय पछिल्लो सुरक्षा परिस्थिति र खेलाडीहरूको सुरक्षालाई ध्यानमा राखेर गरिएको हो । बोर्डले वैकल्पिक तालिका बनाउने प्रतियोगिता भारतबाट बाहिर सार्ने वा अन्य निर्णय गर्नेबारे चाँडै स्पष्ट पार्ने ईएसपीएनले जनाएको छ । यस निर्णयसँगै खेलाडी, समर्थक, विज्ञ र टिम व्यवस्थापनबीच चिन्ता र निराशा देखिएको छ । 

भारतले जुन २० देखि पाँच खेलको टेस्ट सिरिजका लागी इङ्ल्यान्डको भ्रमण गर्दै छ । सुरक्षा चिन्त्ताकै कारण पाकिस्तानले पनि पाकिस्तान सुपर लिगका खेलहरू यूएईमा सारिसकेको छ ।