मेचीनगर । कतै तपाईं हाम्रा बालबच्चा बढी नै झिझ्याउने, रोइरहने, चकचके या एकोहोरो टोलाइरहने त गरिरहेका त छैनन् ? यदि आफ्ना नानीबाबुमा यस्ता स्वभावहरू देखिए बेलैमा दक्ष चिकित्सकलाई देखाइहाल्नोस् है ।
किनकी यो अटिजम डिस्अर्डरको लक्षण पनि हुन सक्छ । यो समस्या बेलैमा पहिचान नहुँदा धेरै बालबालिकाका अभिभावकले सास्ती बेहोर्नुपरेको छ । समस्या देखिएका अधिकांश बालबालिका विद्यालय शिक्षाबाट समेत वञ्चित भइरहेका छन ।
झापा मेचीनगरका १० वर्षीय दिव्यान गौतम स्कुल जान नपाएको साढे दुई वर्ष भयो । अटिजमको लक्षण देखिएपछि उहाँलाई कुनै विद्यालयले भर्ना नै लिएनन् । नजिकका स्कुलले पढाउनै नमानेपछि दिव्यानका अभिभावकले उहाँलाई विर्तामोडस्थित पुनस्र्थापना केन्द्र पुर्याउनुपरेको छ ।
दिव्यान त जसोतसो पुनस्र्थापना केन्द्रसम्मको पहुँचमा पुग्नुभयो । मेचीनगरमा मात्र यस्ता ८७ जना बालबालिकामा अटिजम डिस्अर्डर भएको नगरपालिकाको तथ्यांकले देखाउँछ ।
तीमध्ये धेरै अभिभावक आफ्ना नानीबाबुलाई महङ्गो शुल्क तिरेर निजी क्षेत्रबाट खुलेका अटिजम पुनस्र्थापना केन्द्रमा भर्ना गर्न सक्दैनन् । यस्ता अभिभावकलाई भेला गरेर मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाले अभिमुखीकरण तालिम दिएको छ । तालिममा सहभागी भिभावकहरूले आफ्ना नानीबाबु पढाउन नगरभित्र छुट्टै विद्यालयको माग गरेका छन ।
अभिभावकहरूको यस्तो मागपछि आउन थालेपछि मेचीनगर नगरपालिकाले आगामी वर्षको बजेटमार्फत् अटिजमको क्षेत्रमा कुनै न कुनै काम गर्ने योजना बनाएको छ ।
अटिजमको क्षेत्रमा काम गरिरहेकाहरूको बुझाइमा यसले बालबालिकाको सामाजिक व्यवहार, भाषा विकास र भावानात्मक समझमा असर पार्छ । समयमै अटिजम पहिचान गर्न नसके उपचार गर्न गाह्रो हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका एक प्रतिशत मानिसमा कुनै न कुनै किसिमको अटिजमको लक्षण देखिने गरेको छ । यही हिसाबले हेर्दा नेपालका करिब ३ लाख मानिस अटिजमबाट प्रभावित हुन सक्छन् । २०७८ सालको जनगणनाले भने नेपालका ४ हजार ८ सय ८४ जनामा अटिजम भएको देखाएको छ ।