जित जोगाउन सफल यादव, यसरी जिते उपचुनाव

वैशाख १३, २०८० |रमेश ठाकुर|जितेन्द्र झा
जित जोगाउन सफल यादव, यसरी जिते उपचुनाव

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट पराजित भएको पाँच महिना नबित्दै बारा २ को उपचुनावमार्फत निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका छन् । सप्तरीमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका यादव बाराको यो क्षेत्रमा आफ्नो पार्टीको जितलाई जोगाउन पनि सफल भएका छन् ।

उपेन्द्र यादव राजनीतिमा लागेको ५० वर्ष पुग्न लाग्यो । मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा उनी राजनीतिका नवप्रवेशी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरीमा पराजित भए । २०६४ देखि मधेसमा निर्णायक रहेका उपेन्द्र सप्तरीमा धेरै मतान्तरले हारेका थिए । तर, उपनिर्वाचनमा बारा २ मा जनमतका उम्मेदवारलाई नै पराजित गरेर उनले सांसद बन्ने हुटहुटी साकार पारेका छन् । तर यसका लागि उनले तयारी भने पहिल्यै थालेका थिए ।

गठबन्धन गर्दा जसपाले उपराष्ट्रपति पद पाउने भएपछि सप्तरीबाट जितेका नवलकिशोर साहलगायतका केही सांसदले इच्छा देखाएका थिए । अध्यक्ष यादवले भने बारा २ नै आफ्ना लागि अनुकूल हुने निष्कर्षमा पुगेर रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाए । रामसहाय उपराष्ट्रपति भइसकेपछि ठाउँ मात्र खाली भएन, उपेन्द्रले बारा २ का मतदातासमक्ष त्यही विषयलाई आकर्षक एजेन्डा पनि बनाए ।

उपेन्द्रको रोजाइमा बारा पर्नुको कारण मतदाताको जातीय समीकरण पनि हो । बारा २ मा एक चौथाइ मतदाता यादव समुदायका छन् । जनमतले कुशवाहालाई उठाएपछि यादव बहुल क्षेत्रमा उपेन्द्रलाई झन् सजिलो भएको मत परिणामले नै देखाएको छ ।

मंसिरको चुनावीको नतिजाले पनि उपेन्द्र बारामा तानिएका हुन् । कडा प्रतिस्पर्धाका बीच रामसहाय यादव १३ हजार ८ सय २२ मतले विजयी भएका थिए । जसपाले एमालेसँग तालमेल गरेर सो क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसपाकै बागी भएर उम्मेदवारी दिएका रामकिशोर यादव ११ हजार ४३ मत पाएर तेस्रो भएका थिए । रामकिशोरलाई चुनावको मुखमा उपेन्द्रले पार्टीमा भित्र्याए । उपेन्द्रको प्रतिस्पर्धी हुन सक्ने सम्भावितहरु पनि काठमाडौंमा बनेको गठनबन्धनका कारण बाँधिए । अघिल्लो प्रतिनिधिसभा चुनावमा १० हजार ७ सय ५० मत ल्याएर चौथो भएका कांग्रेसका बागी रवीन्द्र यादव पनि उपचुनावमा उठेनन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको बैठकमा राजेन्द्र महतोले नै उम्मेदवार बन्ने चासो देखाएका थिए । तर उनले पनि गठबन्धनको घेरा तोड्ने आँट गर्न सकेनन् । उपनिर्वाचन घोषणा हुँदासम्म जनमतले यो क्षेत्रमा संगठन विस्तार गरेको थिएन । माओवादीबाट प्रवेश गरेका शिवचन्द्र कुशवाहालाई जनमतले उम्मेदवार बनाउने भएपछि यादव झन् बलियो बने । उपेन्द्रका प्रतिस्पर्धी अन्य उम्मेदवार एक्ला-एक्लै मैदानमा थिए ।

उपचुनावमा उपेन्द्रले मधेस प्रदेश सरकारको पनि पूर्ण सहयोग पाए । आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकार भएकाले उनले सरकारी स्रोत साधनको दुरुपयोग गरेको आरोप जनमत पार्टीका नेताको छ । उपेन्द्रलाई जिताउन मुख्यमन्त्री सरोजकुमार यादव निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै प्रसारमा लागे । प्रदेशमन्त्री र पालिकाका पदाधिकारी पनि चुनावमा खटिए । गठबन्धनमा आबद्ध भएकाले कांग्रेस र माओवादीका स्थानीय तहका जनप्रतिनिधि र नेताहरुको समेत साथ सहयोग पाउँदै यादव संघीय राजनीतिको केन्द्रमा फर्किएका छन् ।

जसपा सत्तामा हुँदा पनि उपेन्द्र यादव सांसद नभएकाले सत्ताबाहिरै थिए । सांसद पद जितेसँगै उनको सत्तारोहणको भर्‍याङ ठडिएको छ । उनले सिंहदरबारमा उपप्रधानसहित कुन आकर्षक मन्त्रालय पाउँछन् त्यो भने केही समयमा स्पष्ट होला । 

थप समाचार...

बारामा उपेन्द्रको जित : उपप्रधानमन्त्री दाबी गर्ने ढोका खुल्यो
तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित
५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी
चितवनमा कांग्रेस र एमालेले कति गुमाए ?


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।

Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।