चितवनमा कांग्रेस र एमालेले कति गुमाए ?

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
चितवनमा कांग्रेस र एमालेले कति गुमाए ?

चितवन । एक जमानामा चितवन जिल्ला नेपाली कांग्रेसको गढ मानिन्थ्यो । वामपन्थीहरुको पनि बर्चश्व रहँदै आएको चितवन बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लासमेत हो । तर, कांग्रेस, एमाले र माओवादीको बर्चश्व रहेको चितवनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षले यसपालिको उपचुनावमा ठूलै धक्का खाएका छन् ।

गत मंसिर ४ को चुनावमा पनि पुराना दलको सबै मत जोड्दासमेत रवि लामिछानेलाई जित्न नसक्ने अवस्था आएको थियो । यो उपचुनावमा त झनै कांग्रेस, एमालेको जनमत घटेको छ ।

प्रधानमन्त्री दाहालको गृहनगर भरतपुरका १० वडासमेत समेटिएको ठाउँमै सत्ता गठबन्धनले पराजय व्यहोर्नुले माओवादीलाई समेत धक्का लागेको छ । माओवादीले उपचुनावमा आफ्नो उम्मेदवार नउठाए पनि महानगरको नेतृत्व गरेको उसले कांग्रेसलाई सघाउँदा पनि परिणाम निस्कन सकेन ।

उता, गठबन्धनविरुद्ध एक्लै लड्न सक्ने हाँक दिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि पनि तनहुँ, चितवन र बारामा सो पार्टीले पाएको मत टिठलाग्दो देखियो । तीनै क्षेत्रमा एमाले ठूलो मतान्तरका साथ तेस्रो स्थानमा देखिएको छ ।

चितवनको उपचुनावमा दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । जबकि मंसिर ४ को चुनावमा कांग्रेसले १४ हजार ९८३ मत पाएको थियो । यसपालि उसले ३ हजार ७६९ मत गुमाएको छ ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले उपचुनावमा १० हजार ९३६ मत ल्याए । मंसिरमा १४ हजार ६४७ मत पाएको एमालेले उपचुनावमा ३ हजार ७११ मत गुमायो ।

अघिल्लो चुनावमा ९५४ मत पाएको राप्रपा यसपालि ३७५ मतमा खुम्चियो ।

सम्बन्धित समाचार :

स्वर्णिम वाग्लेको विजयी यात्रा : कांग्रेसको घेरा तोडे पनि प्रश्नको घेरा बाँकी

चितवनमा रवि झन् लोकप्रिय, सफलता जोगाउने चुनौती


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.