
काठमाडौँ । यसपटकको निर्वाचनमा मतदाता सहभागिता बढ्ने र बदर मत घट्ने निर्वाचन आयोगको दाबी थियो । तर उपलब्ध तथ्यांकले आयोगका दुवै दाबी नमिलेको देखिन्छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कुल १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो । यो भनेको कुल मतदाताको ५९ दशमलव ०८ प्रतिशत हो । यसमध्ये ५ दशमलब ४५ प्रतिशत अर्थात् ६ लाख ९ हजार १५ मत बदर भएको छ ।
जबकि २०७९ को अघिल्लो आम निर्वाचनमा ६१ दशमलव ६३ प्रतिशत मत खसेको थियो । त्यसैगरी आयोगले मतदाता शिक्षा प्रभावकारी बनाएको भनेर दाबी गरे पनि अघिल्लो निर्वाचनको तुलनामा बदर मत शून्य दशमलव २६ प्रतिशतले बढेको हो । ७९ सालमा ५ दशमलव १९ प्रतिशत मत बदर भएको थियो ।
त्यसैगरी यसपटक समानुपातिकतर्फ ३ दशमलव ९५ प्रतिशत मत बदर भएको छ । समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ८ सय १७ मत खसेकामा ४ लाख ४५ हजार ५ सय ९२ मत बदर भएको हो । समानुपातिकतर्फ मतदाता सहभागिता ५९ दशमलव ६८ प्रतिशत रहेको छ ।